संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–७ बिहीबारेमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल रहेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय बानाबाट खटिएको प्रहरी टोलीमाथि दुर्व्यवहार तथा आक्रमण गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
घटनामा प्रहरी हवल्दार सन्तोष राई घाइते भएका छन्। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल संखुवासभा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी केही व्यक्तिहरूले होहल्ला गरिरहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। सोही क्रममा प्रहरीमाथि नै आक्रमण भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठका अनुसार घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ। उनीहरूमाथि मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
