कास्की । पोखरा महानगरपालिका–२६ माझको डाँडामा घरमा चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का ३६ वर्षीय राजन तामाङ रहेका छन्।
प्रहरीका अनुसार गत शुक्रबार बिहान करिब साढे ११ बजे स्थानीय धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारेर तामाङ घरभित्र प्रवेश गरेका थिए। उनले घरको मूल ढोका तथा भित्रका विभिन्न कोठाको ताल्चा फोडेर दराजसमेत तोडफोड गर्दै धनमाल चोरी गरिरहेका थिए।
चोरी भइरहेको थाहा पाएपछि स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्नुअघि तामाङ घटनास्थलबाट भाग्ने प्रयास गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले भाग्दै गरेका तामाङलाई चोरीका क्रममा ताल्चा फोड्न प्रयोग गरिएको फलामको औजारसहित नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका तामाङमाथि चोरी तथा डाँका उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।
उनलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
