काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको २१ नम्बर दक्षिणकाली गणमा कार्यरत सुवेदार मेजर जयराम बस्नेतको हृदयघातका कारण निधन भएको छ। सशस्त्र बरिष्ठ सई ४८ वर्षीय बस्नेतको कार्यक्षेत्रमै भएको असामयिक निधनले सशस्त्र प्रहरी संगठन तथा उनको गाउँ–समाज शोकमग्न बनेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भद्धाल निवासी बस्नेत दक्षिणकाली गणमा कार्यरत थिए। सशस्त्र प्रहरी बलका अनुसार उनी राति सामान्य अवस्थामै सुतेका थिए। तर भोलिपल्ट बिहान नियमित शारीरिक व्यायाम (पीटी) मा उपस्थित नभएपछि सहकर्मीहरूले खोजी गरेका थिए।
ढिलासम्म पनि नउठेपछि सहकर्मीहरू उनको कोठामा पुगेका थिए। त्यतिबेला उनी ओछ्यानमै अचेत अवस्थामा फेला परेका थिए। चिकित्सकीय परीक्षणपछि रातिकै समयमा हृदयघातका कारण उनको मृत्यु भएको निष्कर्ष निकालिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
वि.सं. २०३४ सालमा जन्मिएका बस्नेत संगठनभित्र अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार अधिकृतका रूपमा परिचित थिए। उनी सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थिए। भगवती सेतीदेवी समाज कल्याण संघले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
बस्नेतको आकस्मिक निधनले सशस्त्र प्रहरी बलले एक अनुभवी र समर्पित कमाण्डर गुमाएको भन्दै सहकर्मीहरूले दुःख व्यक्त गरेका छन्। उनका परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा यतिबेला शोक छाएको छ।
मृतक बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विभिन्न व्यक्तित्व तथा संस्थाहरूले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।
