काठमाडौं । बाराको सिमरा क्षेत्रमा अवैध असुली गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापा र घुमुवा प्रहरी जवान अनिल यादव विवादमा तानिएका छन्।
स्थानीय व्यापारी, यातायात व्यवसायी तथा सुरक्षा स्रोतका अनुसार इन्स्पेक्टर थापाको संरक्षणमा प्रहरी जवान यादवले सिमरा–पथलैया सडकखण्डमा सञ्चालन हुने मालवाहक सवारीसाधन तथा विभिन्न व्यवसायीहरूसँग अनियमित रूपमा रकम असुली गर्दै आएको आरोप छ।
स्रोतका अनुसार बारा, पर्सालगायत सीमावर्ती क्षेत्रबाट भित्रिने मालसामान बोकेका ट्रान्सपोर्टका गाडीहरूलाई चेकजाँचको नाममा रोक्ने र विभिन्न बहानामा रकम उठाउने कार्य भइरहेको छ। सिमरा–पथलैया सडकखण्ड हुँदै काठमाडौं, हेटौंडा, पोखरालगायत गन्तव्यतर्फ जाने मालवाहक सवारी साधनहरू विशेष निगरानीमा राखेर रकम असुल्ने गरिएको दाबी गरिएको छ।
यादव यसअघि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कार्यरत रहँदा पनि तस्करहरूसँग निकट सम्बन्ध रहेको आरोपमा विवादमा परेका थिए। त्यसपछि उनलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको भए पनि अहिले पुनः विभिन्न क्षेत्रमा सक्रिय भएर असुली धन्दामा संलग्न रहेको आरोप उठेको छ।
स्थानीयका अनुसार यादव सिमरा क्षेत्र मात्र नभई पटेर्वा सुगौली आसपासका क्षेत्रमा समेत पुगेर व्यापारी र यातायात व्यवसायीहरूसँग नियमित रूपमा सम्पर्कमा रहने गरेका छन्। यसले अवैध आर्थिक संकलनको सञ्जाल अझ फराकिलो रहेको आशंका गरिएको छ।
व्यापारीहरूका अनुसार सडक चेकिङका क्रममा कागजात पूरा हुँदाहुँदै पनि सवारीसाधन रोक्ने, अनावश्यक दुःख दिने र जरिवानाको त्रास देखाएर रकम माग्ने प्रवृत्ति बढेको छ। विशेषगरी रातिको समयमा यस्ता गतिविधि बढी हुने गरेको उनीहरूको भनाइ छ।
यद्यपि, यस विषयमा आरोपित प्रहरी अधिकारीहरूको प्रतिक्रिया प्राप्त हुन सकेको छैन। आरोपबारे सत्यता पत्ता लगाउन सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने माग स्थानीय स्तरबाट उठ्न थालेको छ।
