काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई शुक्रबार बेलुका नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शुक्रबार राति करिब १० बजेतिर काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारस्थित निवासमा घरायसी विवादका क्रममा थापाले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए।
गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। तर उपचारकै क्रममा राति करिब ११ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार दम्पतीबीच लामो समयदेखि सम्बन्धमा तनाव रहेको र सम्बन्धविच्छेद (डिभोर्स) सम्बन्धी मुद्दासमेत अदालतमा विचाराधीन रहेको खुलेको छ। स्रोतका अनुसार उक्त मुद्दाको अन्तिम सुनुवाइ भएको दिन नै घटना भएको हो। सोही विषयलाई लिएर विवाद चर्किँदा घटनाले हिंसात्मक रूप लिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनापछि प्रहरीले थापालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रो-रेस्लर खेलाडीसमेत रहेका थापा पछिल्लो समय टिकटक र अन्य सामाजिक सञ्जालमार्फत ‘नेपाली ब्रो’ नामबाट परिचित थिए। सामाजिक सञ्जालमा चर्चित व्यक्तित्वमाथि आफ्नै श्रीमतीको हत्या आरोप लागेपछि उक्त घटना व्यापक चर्चाको विषय बनेको छ।
