काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उनी सामान्य घाइते भएका छन्।
पार्टी स्रोतका अनुसार साम्पाङ बिहीबार उदयपुरको कटारीमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने क्रममा मोटरसाइकल आफैं चलाइरहेका थिए। गुडिरहेको मोटरसाइकलमा एक हातले ह्यान्डल समातेर अर्को हातले भिडियो खिच्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको बताइएको छ।
दुर्घटनापछि उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै हातमा लागेको चोट देखाएका थिए। भिडियोमा उनको हातको छाला ताछिएको र सुरुवाल उध्रिएको देखिन्छ।
शुक्रबार सामाजिक सञ्जालमार्फत साम्पाङले आफू सामान्य अवस्थामा रहेको जनाउँदै लेखेका छन्, “म आफैँ लडेँ, चोट मलाई नै लाग्यो। अलिअलि चोट लाग्नु पनि पर्छ, तर देशलाई चोट दिएको छैन मैले।”
पार्टीका वरिष्ठ नेता सुदन किराती ले पनि साम्पाङको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी नियमित गतिविधिमा सक्रिय रहेको जानकारी दिएका छन्।
यता जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। प्रहरीले दुर्घटना कहाँ भएको हो भन्ने विवरणसमेत औपचारिक रूपमा प्राप्त नभएको बताएको छ।
