भरतपुर । चितवनका चिकित्सक तथा राजनीतिज्ञ डा. भोजराज अधिकारीले प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँगको राजनीतिक आबद्धता अन्त्य गरेका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नं. ३ छाडेपछि सोही क्षेत्रबाट उम्मेदवार बनेका डा। अधिकारीले सामाजिक सञ्जालमार्फत आफू सक्रिय राजनीतिबाट अलगिएको घोषणा गरेका हुन्।
फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा उनले आफ्नो पेशागत दक्षता र योगदानलाई अझ बढी समाजसेवा तथा स्वास्थ्य क्षेत्रमै केन्द्रित गर्ने उद्देश्यले राजनीतिक सक्रियताबाट निष्क्रिय हुने निर्णय गरेको बताएका छन्।
उनले राजनीतिक यात्राबाट प्राप्त ज्ञान, दर्शन र अनुभवप्रति सम्मान व्यक्त गर्दै अहिलेको समय विचारधारा वा ‘वाद’ को भन्दा विकास र परिणाममुखी प्रतिस्पर्धाको भएको उल्लेख गरेका छन्।
साथै, राजनीतिक जिम्मेवारी र पदबाट अलग भए पनि सचेत नागरिकका रूपमा समाजसेवा तथा पेशागत क्षेत्रमार्फत योगदान जारी रहने बताएका छन्।
विशेषगरी स्वास्थ्य क्षेत्रबाट राजनीतिमा सक्रिय रहेका उनी पुनः आफ्नो पेशा र सामाजिक सेवामै केन्द्रित हुने संकेत दिएका छन् ।
