सर्लाही । दुई छोराको विद्यालय शुल्कको विषयलाई लिएर सुरु भएको सामान्य विवादले सर्लाहीमा गम्भीर मोड लिएको छ। विद्यालय सञ्चालकको उजुरीपछि सोधपुछका लागि प्रहरी कार्यालय पुगेका एक अभिभावक प्रहरीको कुटाइबाट गम्भीर घाइते भएपछि घटना चर्चामा आएको हो।
धनकौल गाउँपालिका–५ हरकठवाका फेकु दासले आफ्ना दुई छोराले अध्ययन गरेको विद्यालयको शुल्क तिरिसकेको दाबी गरिरहेका बेला विद्यालय प्रशासनले भने १३ हजार रुपैयाँ बाँकी रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो। सोही निवेदनको आधारमा जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई आवश्यक सोधपुछ गर्न पत्राचार गरेको थियो।
बुधबार दिउँसो श्रीमतीसहित प्रहरी कार्यालय पुगेका दासले आफूलाई प्रहरीले एउटा कागजमा हस्ताक्षर गर्न दबाब दिएको आरोप लगाएका छन्। तर विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि अवस्था तनावपूर्ण बनेको उनको भनाइ छ।
दासका अनुसार त्यसपछि प्रहरी जवान रामजीवन पासवानले कार्यालयभित्रको एक कोठामा लगेर बाँसको भाटा र बुटले निर्घात कुटपिट गरे। कुटाइबाट उनको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको बताइएको छ। प्रारम्भिक उपचार बरहथवास्थित हनुमन्त अस्पतालमा गरिए पनि अवस्था जटिल भएपछि उनलाई काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको छ।
घटनापछि स्थानीय स्तरमा प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। शुल्क विवाद जस्तो विषयमा प्रहरी कार्यालयसम्म पुग्नुपर्ने अवस्था किन आयो भन्ने विषयसमेत चर्चाको केन्द्र बनेको छ।
यता, इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्र दास र प्रहरी जवानबीच विवाद भएको स्वीकार गरेका छन्। उनले विवादकै क्रममा हात हालाहाल र कुटपिटको घटना भएको बताए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताएका छन्।
उनका अनुसार दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको प्रारम्भिक विवरण आएको छ। घटनामा नाम जोडिएका प्रहरी जवान रामजीवन पासवानलाई तत्काल इलाका प्रहरी कार्यालय बरहथवामा तानेर अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।
घटनाको वास्तविकता के हो भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुने भए पनि विद्यालय शुल्कको विवाद प्रहरी कार्यालयसम्म पुग्नु र त्यहाँ पुगेका अभिभावक गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना हुनुपर्ने अवस्था सिर्जना हुनु आफैंमा गम्भीर विषय बनेको छ। स्थानीयवासी तथा मानवअधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
