काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङमाथि प्रहरी हिरासतभित्रै पुगेर आफ्ना अभियन्तामाथि दबाब र दुर्व्यवहार गरेको आरोप लगाएको छ। अभियानले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत अभियानले हिरासतमा रहेका आफ्ना अभियन्तामाथि राजनीतिक प्रभाव प्रयोग गरी मानसिक दबाब सिर्जना गरिएको दाबी गरेको हो।
अभियानका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय अभिव्यक्तिप्रति विरोध जनाउँदै काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा अभियानका अगुवा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी वृत्त लैनचौर र सोह्रखुट्टेमा राखिएको थियो।
विज्ञप्तिअनुसार पक्राउ परेका अभियन्तालाई हिरासतमा राखिएको करिब एक घण्टापछि पूर्वगृहमन्त्री गुरुङ हिरासत कक्षमै प्रवेश गरी उनीहरूसँग भेट गरेका थिए। सो क्रममा उनले अभियन्तामाथि दबाब सिर्जना गर्ने शैलीमा प्रश्न गरेको तथा धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप अभियानले लगाएको छ।
अभियानको दाबीअनुसार गुरुङले अभियन्ताहरूलाई ‘कोकोबाट परिचालित हुनुहुन्छ? , यो अन्तिम मौका हो, अब सरकार र प्रहरीले समाते भने छोडिँदैन र सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्’ जस्ता अभिव्यक्ति दिएका थिए।
जेनजी नागरिक अभियानले प्रहरी हिरासतमा रहेका नागरिकसँग कुनै प्रभावशाली राजनीतिक व्यक्तिले प्रत्यक्ष भेट गरी दबाब दिन खोज्नु कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत भएको जनाएको छ।
अभियानले हिरासतमा रहेका आफ्ना सदस्यलाई पर्याप्त खाना तथा पिउने पानीसमेत उपलब्ध नगराइएको आरोप लगाउँदै त्यसबारे पनि छानबिन गर्न माग गरेको छ।
घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै अभियानले गुरुङको भूमिका छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, मानवअधिकार उल्लंघन भएको भए जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न तथा भविष्यमा प्रहरी हिरासतमा राजनीतिक हस्तक्षेप रोक्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
