काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले नेतृत्व सम्हालेको केही दिनमै कञ्चनपुर प्रहरीको एउटा विवादित कारबाही अदालतबाट अस्वीकार भएको छ।
महेन्द्रनगरस्थित न्यू रोयल दरबार होटलमा भएको तोडफोड घटनापछि प्रहरीले होटलका कर्मचारी र ग्राहकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा चलाएको थियो। तर जिल्ला अदालत कञ्चनपुरले उक्त अभियोग पुष्टि हुने पर्याप्त आधार नदेखिएको भन्दै पाँचै जनालाई सफाइ दिएको छ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलाशले होटलका कर्मचारी सन्तोष भण्डारीसहित हर्कबहादुर चन्द, प्रकाश टेर, पवन थापा र परमानन्द भण्डारीविरुद्ध दायर मुद्दामा प्रहरीको दाबी नपुग्ने ठहर गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार सरकारी वकिलको कार्यालयमार्फत उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा अघि बढाउन अदालतमा फाइल पेश गरेको थियो। तर थुनछेक बहसपछि अदालतले मुद्दा नै नचल्ने निर्णय गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको छ।
अदालतका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार प्रहरीले पेश गरेको प्रमाण र दाबीबाट अभियोग पुष्टि हुने अवस्था नदेखिएपछि सफाइको आदेश भएको हो।
यो घटनाले एसपी गिरी नेतृत्वको कञ्चनपुर प्रहरीको अनुसन्धान र कारबाही प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। घटनाको राति होटल सञ्चालकले तोडफोड भइरहेको भन्दै प्रहरीलाई खबर गरेका थिए। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट पुगेको प्रहरी टोलीले भने तोडफोडमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन नसकी होटलका कर्मचारी र त्यहाँ रहेका ग्राहकलाई पक्राउ गरेको आरोप लागेको थियो।
घटनास्थलको सीसीटीभी फुटेजमा समेत तोडफोडमा संलग्न व्यक्तिहरू प्रहरीकै उपस्थितिमा भाग्न सफल भएको देखिएको दाबी गरिएको छ। उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत घटनास्थलमै छाडेर फरार भएका थिए।
पछि प्रहरीले तोडफोडमा संलग्न भनिएका दुई जनालाई पक्राउ गरी आपराधिक उपद्रव मुद्दा चलाएको भए पनि प्रारम्भिक रूपमा कर्मचारी र ग्राहकमाथि मुद्दा चलाएको विषयले आलोचना खेप्दै आएको थियो।
घटनाको विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले समेत एसपी गिरी नेतृत्वको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसँग स्पष्टीकरण मागेको स्रोतले जनाएको छ। प्रदेश कार्यालयले घटनाको वास्तविकता र प्रहरीले गरेको कारबाहीबारे विस्तृत प्रतिवेदन पठाउन निर्देशन दिएको बताइएको छ।
अदालतको पछिल्लो फैसलासँगै एसपी गिरी नेतृत्वको कञ्चनपुर प्रहरीको निर्णय र अनुसन्धान प्रक्रियामाथि उठेका प्रश्न थप गहिरिएका छन्।
