काठमाडौं । बुधबार राति सशस्त्र प्रहरी बल (एपीएफ) को प्रधान कार्यालय हल्चोकस्थित सवारी शाखामा आगलागी हुँदा कम्तीमा पाँच वटा सवारीसाधन जलेका छन्।
स्रोतका अनुसार पार्किङ क्षेत्रमा राखिएका सवारीसाधनमा अचानक आगो लागेपछि केही समयका लागि मुख्यालय परिसरमा त्रासको अवस्था सिर्जना भएको थियो। आगलागीमा अमेरिकाले सहयोगस्वरूप उपलब्ध गराएका केही सवारीसाधनसमेत क्षतिग्रस्त भएको बताइएको छ।
घटनास्थल सशस्त्र प्रहरी जवानहरूको ब्यारेक नजिकै रहेकाले आगो थप फैलिने जोखिम थियो। आगलागीको जानकारी प्राप्त हुनासाथ दमकल, सुरक्षा कर्मचारी तथा उद्धार टोली परिचालन गरिएको थियो। समयमै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन्।
‘आगो छिट्टै नियन्त्रणमा आएकाले आसपासका महत्वपूर्ण भवनहरू सुरक्षित रहे। ढिलो भएको भए क्षति निकै ठूलो हुन सक्थ्यो,’ एक उच्च अधिकारीले बताए।
आगलागीको यकिन कारण भने अझै खुल्न सकेको छैन। प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे सशस्त्र प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।
