काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित सामुदायिक वन क्षेत्रमा सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक र एक युवती मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोककाअनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेका सहायक निरीक्षक शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव बुधबार बिहान वन क्षेत्रमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका शक्ति राम गत वैशाख १९ गते गणबाट दुई दिनको बिदा लिएर बाहिरिएका थिए। निर्धारित समयपछि पनि सम्पर्कमा नआएपछि उनका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए।
त्यसलगत्तै सशस्त्र प्रहरीले पनि प्रहरीलाई जानकारी गराएको थियो।
यता शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे आएकी थिइन्। त्यसपछि उनी पनि परिवारको सम्पर्कबाहिर रहेकी थिइन्। उनका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए। प्रहरीको प्रारम्भिक खोजीका क्रममा शर्मिलाको मोबाइल फोनको अन्तिम लोकेसन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएको थियो।
बुधबार स्थानीयवासीले वनभित्र दुई वटा रुखमा महिला र पुरुषको जस्तो देखिने सडेगलेका शव झुन्डिएको जानकारी प्रहरीलाई दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा पुगेको टोलीले शवको पहिचान शक्ति राम र शर्मिला चौधरीको रूपमा गरेको जनाएको छ।
दुवै शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ। घटनाको कारण र मृत्युको प्रकृतिबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन तथा अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा घटनाबारे थप विवरण सार्वजनिक गरिनेछ।
