काठमाडौं । बौद्धस्थित प्राइड क्यासिनोमा भएको बहुचर्चित लुटपाट प्रकरणका मुख्य आरोपित मानिएका कुलध्वज लामा र राकेश लामा धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंको आदेशअनुसार दुवै जना ४–४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। करिब १४ करोड रुपैयाँ बराबरको लुटपाट भएको दाबी गरिएको घटनाका मुख्य योजनाकार मानिएका व्यक्तिहरू धरौटीमा रिहा भएपछि अनुसन्धान र अभियोजन प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेको छ।
प्रहरीका अनुसार कुलध्वज लामा र राकेश लामा विगतदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १ गते सार्वजनिक गरेको विवरणमा कुलध्वज पाँच वटा तथा राकेश (कोरियन) सात वटा विभिन्न आपराधिक घटनामा संलग्न रहेको उल्लेख गरेको थियो।
अनुसन्धानका क्रममा लुटपाटबाट प्राप्त रकममध्ये केही रकम गिरोहका सदस्यहरूबीच बाँडफाँट भएको तथ्यसमेत खुलेको प्रहरीले जनाएको थियो। यति ठूलो आर्थिक अपराधमा संलग्न रहेको आरोप लागेका मुख्य व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणलगायत थप कसुरमा समेत अनुसन्धान हुनुपर्ने अपेक्षा गरिए पनि त्यसतर्फ प्रभावकारी अनुसन्धान नभएको आरोप लाग्दै आएको छ।
यस प्रकरणमा पक्राउ परेका केही प्रतिवादीलाई यसअघि नै अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। आरोपितहरू दावा शेर्पा उर्फ ‘सेठ्ठी’, रन्जित खड्गी उर्फ ‘रने’ र दोर्जे शेर्पासहित अन्य प्रतिवादीहरू जेल चलान भएका थिए।
त्यस्तै घटनामा संलग्न रहेको आरोप लागेका शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ पनि पुर्पक्षका लागि थुनामा छन्। तर मुख्य नाइकेका रूपमा प्रस्तुत गरिएका कुलध्वज र राकेश लामा भने धरौटीमा रिहा भएका हुन्।
प्रकरणमा संलग्न संजय लामा, अनिल लामा, सुमन घिमिरे र मिलन लामा लगायत केही प्रतिवादी अझै फरार रहेको प्रहरी स्रोतले जनाएको छ।
