काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हालै सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्राप्त जिम्मेवारी इमान्दारी, निष्ठा र व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिएका छन्।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका एसएसपीहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नवीन सोच र सिर्जनशीलतासहित कार्यसम्पादन गर्न आग्रह गरे। उनले उपलब्धिमूलक तथा उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्दै संगठनको गरिमा र नागरिकको विश्वास कायम रहने गरी जिम्मेवारी बहन गर्नुपर्ने बताए।
प्रहरी महानिरीक्षक कार्कीले संगठनको शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकतामा राखी नेपाल प्रहरीको संस्थागत विकासमा योगदान पुग्ने गरी काम गर्न निर्देशन दिए। उनले शून्य सहनशीलताको नीतिअनुसार प्रविधिको अधिकतम प्रयोग गर्दै योजनाबद्ध, पारदर्शी, समयसापेक्ष तथा नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने बताए।
संगठनका नीति तथा निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमार्फत निर्धारित लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारी सक्रिय हुनुपर्ने उल्लेख गर्दै उनले चेन अफ कमाण्डको पालना, सामूहिक कार्यसंस्कृति र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याए। मातहतका प्रहरी कर्मचारीहरूको क्षमता विकास, समस्या तथा गुनासोको उचित व्यवस्थापन र उदाहरणीय नेतृत्व प्रस्तुत गर्न पनि उनले निर्देशन दिए।
विगतका कमी–कमजोरीको समीक्षा गर्दै आवश्यक योजना तथा रणनीति निर्माण गरी आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन र विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा समेत प्रहरी महानिरीक्षक कार्कीले जोड दिए।
कार्यक्रममा मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदी तथा अपराध अनुसन्धान विभागका प्रमुख सुशील सिंह राठौरले पनि सरुवा भएका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा तथा समसामयिक सुरक्षा चुनौतीबारे निर्देशन दिएका थिए।
