काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै मोदीले यस्तो धारणा व्यक्त गरेका हुन्।
मोदीले लामिछानेसँग भेटवार्ता गर्न पाएकोमा खुसी व्यक्त गर्दै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई स्वागत गरेको उल्लेख गरेका छन्। उनले नेपाल र भारतबीचको सम्बन्ध विशेष, घनिष्ठ तथा बहुआयामिक रहेको बताउँदै त्यसलाई थप उचाइमा पुर्याउन भारत प्रतिबद्ध रहेको बताएका छन्।
‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको उल्लेख गर्दै मोदीले दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको सन्देश दिएका छन्।
मोदीको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै नेपाल–भारत सम्बन्ध र आगामी सहकार्यबारे राजनीतिक वृत्तमा चासो बढेको छ।
