काठमाडौं । डडेलधुराको परिगाउँ बीओपीमा कार्यरत सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर हराएको तीन दिनपछि महाकाली नदीमा मृत अवस्थामा भेटिए। उनी १५ जेठमा सीमा गस्तीका क्रममा हारबोर बीओपीमा बसेपछि १६ जेठ बिहान रोलकलमा अनुपस्थित भएका थिए।
सशस्त्र प्रहरीका अनुसार पुन मगर विवाह वर्षगाँठ मनाउन भन्दै बीओपीबाट निस्किएका थिए। उनीसँगै उनका मामा नाता पर्ने तीर्थबहादुर थापाको शव पनि महाकाली नदीमा भेटिएको छ। दुवै जना माछा मार्न गएको हुनसक्ने आशंका गरिएको भए पनि यसको आधिकारिक पुष्टि भएको छैन।
घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी अभियान सञ्चालन गरेका थिए। पुन मगरको शव सोमबार कञ्चनपुर–टनकपुर ब्यारेज क्षेत्रको महाकाली नदीमा फेला परेको थियो।
गस्तीमा रहेका जवान नै ब्यारेकबाट बेपत्ता भई मृत भेटिएपछि घटनालाई शंकास्पद मानिएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन नं. ७ बाहिनीका एसपी देवराज जोशीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
