काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सांसद तथा पूर्वप्रशासकसहित ५ हजार ६ सयभन्दा बढी व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। उनीहरूलाई जनही १० हजार रुपैयाँका दरले जरिवाना गरिने तयारी रहेको स्रोतले जनाएको छ।
कारबाहीको सूचीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमन्त्री शरदसिंह भण्डारी, सांसद सुमना श्रेष्ठ, पूर्वसांसद तोसिमा कार्की तथा पूर्वमन्त्री भगवती चौधरीलगायत रहेका छन्।
भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। तर, ठूलो संख्यामा पदाधिकारी तथा कर्मचारीले विवरण नबुझाएपछि राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा अख्तियारले कारबाही प्रक्रिया अघि बढाएको हो।
अख्तियारले जरिवानासँगै सम्बन्धित व्यक्तिलाई तत्काल सम्पत्ति विवरण पेश गर्न निर्देशन दिने तयारी गरेको छ। तोकिएको समयभित्र पनि विवरण नबुझाए थप छानबिन र अनुसन्धान हुन सक्ने जनाइएको छ।
