काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय (TU) गेट नजिक गरिएको विशेष ट्राफिक चेकिङका क्रममा यान्त्रिक अवस्था मापदण्डअनुसार नभएका १९ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सञ्चालन गरेको विशेष चेकिङ अभियानमा ६० वटा सवारी साधन जाँच गरिएको थियो।
जाँचका क्रममा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू बिग्रिएका, टायर अत्यधिक खिइएका तथा समग्र यान्त्रिक अवस्था कमजोर रहेका १९ वटा सवारी साधन फेला परेपछि सम्बन्धित चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
सवारी साधनको यान्त्रिक अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्ने तथा यात्रु र अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि विशेष चेकिङ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई नियमित रूपमा आफ्नो सवारी साधनको अवस्था परीक्षण गरी आवश्यक मर्मत–सम्भार पश्चात् मात्र सञ्चालन गर्न आग्रह गरेको छ।
