सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत हुम्ला र जुम्लाका दुर्गम क्षेत्रमा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
अस्पताल प्रमुख हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा. श्यामकृष्ण लौडारीको नेतृत्वमा खटिएको सात सदस्यीय स्वास्थ्यकर्मी टोलीले हुम्ला र जुम्लाका विभिन्न स्थानमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण तथा सामान्य शल्यक्रिया सेवा प्रदान गरेको हो।
कार्यक्रम अन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी उपत्यकाको हल्जी र जाङ गाउँमा ६७ जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो।
यस्तै, चंखेली गाउँपालिका–४ स्थित पिप्लाङ स्वास्थ्य चौकीमा आयोजित शिविरमा २४७ जनाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिनुका साथै २७ जनाको सामान्य शल्यक्रिया गरिएको प्रहरीले जनाएको छ।
उक्त शिविरमा जिल्ला स्वास्थ्य कार्यालयको सहकार्य रहेको थियो भने विशेषज्ञ चिकित्सक डा. उमाकान्त तिवारीसहित अन्य स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको थियो।
यसअघि जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डवगुफा स्वास्थ्य चौकीमा आयोजित शिविरमा २०९ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए। गाउँपालिका अध्यक्ष दामोदर आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो।
दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पहुँच पुर्याउने उद्देश्यले सञ्चालन गरिएको शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष राहत पुगेको कर्णाली प्रदेश प्रहरी अस्पतालले जनाएको छ।
