विराटनगर । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले प्रहरी संगठनप्रति नागरिकको विश्वास कायम राख्न उच्च व्यावसायिकता, अनुशासन र सेवामुखी व्यवहार आवश्यक रहेको बताएका छन्।
कोशी प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले नेपाल प्रहरीले मानिसको जन्मदेखि मृत्युसम्मका विभिन्न सामाजिक गतिविधिमा भरोसाको संस्थाका रूपमा काम गर्नुपर्ने बताए।
उनले सेवा लिन आउने सेवाग्राहीप्रति समान व्यवहार, निष्पक्ष सेवा र नम्र बोलीवचनका साथ प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
उनले प्रहरी कर्मचारी सधैं चुस्त, दुरुस्त र तयारी अवस्थामा रहनुपर्ने उल्लेख गर्दै दैनिक शारीरिक व्यायाम, योग तथा ध्यानलाई नियमित अभ्यास बनाउन आग्रह गरे। द्वन्द्व, बन्द, बाढी, पहिरो, आँधीहुरी लगायतका विपद् तथा चुनौतीपूर्ण परिस्थितिमा प्रहरीको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो।
आईजीपी कार्कीले खुला सीमाका कारण हुने भन्सार चोरी निकासी तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रणका लागि योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन समेत निर्देशन दिए।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासैनी, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख ज्ञानेन्द्र फुँयाल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापालगायत विभिन्न सुरक्षा निकायका प्रमुख, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत, प्रहरी कर्मचारी र प्रशिक्षार्थी जवानहरूको उपस्थिति रहेको थियो।
