काठमाडौं । ५ दिनअघि झापाको रतुवा खोलाको पुल मुनि शव भेटिएकी दमक–८ की रोमा भनिने २१ वर्षीया रमा तिवारीको मृत्यु प्रकरण सत्य तथ्य अझै सार्वजनिक हुन सकेको छैन । प्रहरीले घटनाबारे गम्भीर चासो नलिँदा तिवारीको मृत्यु प्रकरणबारे सत्यतथ्य सार्वजनिक हुन नसकेको हो ।
१३ जेठको राती करीब साढे ९ बजे घरबाहिर निस्किएकी रमाको शव १५ जेठमा फेला परे पनि सोमबार अर्थात १८ जेठमा मात्रै बुझेर परिवारले अन्त्येष्टी गरेका छन् । तिवारी परिवार इसाई धर्मावलम्बी भएका कारण इसाई परम्परा अनुसारनै सोमबार साँझ दमकको उत्तरी क्षेत्र बेलडाँगीमा उनको अन्त्येष्टी गरियो ।
आइतबार प्रहरीले रमाको शव परिक्षणका लागि धरान पठाएको थियो । धरानबाट उनको शव दमक ल्याएर अन्त्येष्टीका लागि परिवारको जिम्मा लगाएको र परिवारले अन्त्येष्टी गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तर मृतककी आमा मुनाले छोरीको हत्यानै भएको दाबी गर्दै हत्यामा संलग्नहरुको पहिचान गरी यथाशीघ्र सार्वजनिक गर्न र हदै सम्मको कानुनी कारवाही गर्न माग गरेकी छन्। घटनाको वास्तविक दोषी पहिचान गरेर कारवाही हुनुपर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘मलाई अरु केही छैन छोरी मार्ने मान्छे खोजी हुनुपर्यो । कारवाही हुनुपर्यो ।’
उनले छोरी रमाको एकजना केटा साथीसँग पति पत्नीको जस्तै नजिकको सम्बन्ध रहेको र ति केटा साथीका परिवारका अन्य सदस्यहरुले भने उनीहरुबीचको सम्बन्धलाई इन्कार गर्ने गरेको पनि खुलासा गरिन् । छोरीले घर छोड्ने अघिल्लो दिन पनि त्यो केटाका बारेमा कुरा गरेकी आमाले बताइन् ।
‘सुधार केन्द्रबाट आएको छ अरे भनि । मैंले के गर्नु त आयो भने ? भन्दा पछि बिहे गर्ने कुरा छ । औंठी दिएर इन्गेजमेन्ट गर्ने चलन जस्तो के छ त्यो पनि गर्ने भनेको छ भन्थी । उसका दिदीबहिनीले चाहिँ मेरी छोरीसँग त्यो केटाले बोलचाल गरेको उठबस गरेको मन पराउँदैन थिए,’ आमाले सुनाइन् ।
मृतककी आमाले यी कुराहरु प्रहरीसमक्ष समेत भनेकी छन् । तर, प्रहरीले अहिलेसम्म केही क्लू फेला पार्न सकिरहेको छैन। यसले प्रहरीको अनुसन्धानमाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था छ।
