काठमाडौं । अर्घाखाँचीमा तीन वर्षअघि ‘भवितव्य मृत्यु’ भन्दै टुंग्याइएको घटना अन्ततः हत्या भएको पुष्टि भएपछि तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी मुकुन्द रिजाल (हाल एसपी) सहित अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथि कारबाही सिफारिस गरिएको छ।
२०८० साउन २६ गते भूमिकास्थान नगरपालिका–७ का ४५ वर्षीय पदम केसी मकैबारीमा छातीमा गोली लागेको अवस्थामा फेला परेका थिए। त्यतिबेला प्रहरीले बाँदर धपाउन बोकेको भरुवा बन्दुक आफैं पड्किँदा मृत्यु भएको निष्कर्ष निकाल्दै घटनालाई भवितव्यका रूपमा अघि बढाएको थियो।
तर मृतकका छोरा ईश्वर केसीले बुबाको मृत्यु शंकास्पद रहेको भन्दै निरन्तर निष्पक्ष अनुसन्धानको माग गरेपछि घटना पुनः अनुसन्धानमा गएको थियो। हालका प्रहरी प्रमुख डीएसपी दिवस जीसी नेतृत्वको टोलीले फरेन्सिक विश्लेषण, पोस्टमार्टम प्रतिवेदन तथा अन्य प्रमाणका आधारमा घटनालाई हत्या ठहर गरेको हो।
अनुसन्धानपछि मृतकका सौतेनी दाजु निमबहादुर केसी पक्राउ परेका छन्। जिल्ला अदालत अर्घाखाँचीले उनलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
घटना उल्टिएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गठन गरेको छानबिन समितिले तत्कालीन डीएसपी रिजाल र अनुसन्धान अधिकृत विक्रम रिजालले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा उनीहरू ‘मोलाहिजामा परी’ अपराधमा प्रयोग भएको हतियारसम्बन्धी प्रमाण नष्ट गर्नतर्फ समेत संलग्न देखिएको उल्लेख गरिएको छ।
छानबिनका क्रममा घटनासँग सम्बन्धित अर्को बन्दुक फेला परे पनि त्यसबारे अनुसन्धान नगरी बेवारिसे रूपमा राखिएको तथ्यसमेत खुलेको छ। समितिको प्रतिवेदन प्रहरी प्रधान कार्यालय पुगेको छ भने कानुन शाखा र अपराध अनुसन्धान विभागले थप अध्ययनपछि सम्बन्धित प्रहरी अधिकारीमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ।
