काठमाडौं । नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर), वरिष्ठ उपरीक्षक (एसएसपी) र नायब महानिरीक्षक (डिआईजी) सम्मका सरुवा रोकिएका छन् ।
सामान्यतया इन्चार्ज सम्हालेको एक वर्ष पूरा भएपछि सरुवा हुने प्रावधान रहे पनि अहिले एक वर्षभन्दा बढी कमान्ड भइरहँदा पनि सरुवा हुन सकेको छैन ।
इन्स्पेक्टरले कमान्ड गरेका इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय तथा प्रभागहरू अहिले एक वर्ष बढी हुँदा पनि सरुवा हुन सकेका छैनन् । एसएसपीको पनि सरुवा तयारी गरिए पनि अहिलेसम्म सरुवा हुन सकेको छैन ।
शेयर सम्बन्धी विवादमा आएपछि सुधन गुरुङले गृहमन्त्रीबाट राजिनामा दिएका थिए । त्यसयता गृह मन्त्रीको समेत जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले सम्हालिरहेका छन् ।
तर मन्त्रीको कारण देखाउँदै अहिले प्रहरीको सरुवा रोकिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपी र डिआईजीको सरुवा हुन्छ । त्यस्तै अहिले केही एसएसपी र डिआईजीहरूको सरुवाको चर्चा पनि सुरु भएको छ ।
काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ जस्ता कार्यालयहरू एसएसपीका लागि आकर्षक मानिन्छन् ।
ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको एक वर्ष पूरा हुन केही दिन बाँकी छ । तर काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालयका एसएसपीको भने एक वर्ष पूरा भएको छैन ।
पछिल्लो ५/७ वर्षको तथ्यांक केलाउने हो भने काठमाडौंमा एक वर्ष पूरा गर्ने एसएसपी पाउन मुस्किल छ । ६ महिना पूरा हुनुलाई नै सफलता मान्ने चलन काठमाडौं ।
आकर्षक मानिएका यी ठाउँहरुको कमान्डका लागि एसएसपी दयानिधि ज्ञवाली, दिलिप घिमिरे, अजय केसी, प्रवीण धिताल, सुरेश काफ्ले, सुवास बोहोरालगायत एसएसपीहरूको चर्चा गरिएको छ ।
चुनावी सुरक्षा योजना, इन्टेलिजेन्स र जेनजी आन्दोलनमा ज्ञवालीमा उत्कृष्ट काम गरेका थिए । उनी अहिले कार्य विभागमा छन् । संघीय राजधानीलाई सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिन्छ ।
ज्ञवालीजस्तै घिमिरे, केसी, काफ्ले लगायतले आ–आफ्नो दाबी राखेका छन् । काठमाडौं नपाएको अवस्थामा अन्य युनिटको इन्चार्जका लागि उनीहरूको लबिइङ तीव्र छ ।
यस्तै केही प्रदेशका डिआईजीको पनि सरुवा गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय छ । विवाद र कमजोर कमाण्डका कराण पटकपटक प्रश्न उठेपछि केही प्रदेशका डिआईजीको सरुवा सूची बनेपनि रोकिँदा तल्लो तहमा समेत असर गरेको छ।
केही दिनअघि मात्रै प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डिएसपी) सरुवा गरेको थियो ।
