काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक हबलदार जगतराज खनाल ‘पुलिस अफ द मन्थ’ अवार्डबाट सम्मानित भएका छन् ।
उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक दक्षता र प्रहरी संगठनको छवि उच्च बनाउन पुर्याएको योगदानको कदर गर्दै उनलाई वैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो ।
प्रहरी वृत्त दरबारमार्गका अनुसार हबलदार खनालले वन्यजन्तु तथा लागुऔषधसम्बन्धी अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
विशेषगरी गत महिना दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट गैँडाको खागसहित तीन जनालाई पक्राउ गर्न सफल भएको घटनाले उनको अनुसन्धान क्षमता र सक्रियता उजागर गरेको थियो।
प्रहरी वृत्तले खनालले यसअघि पनि विभिन्न महत्वपूर्ण अपरेसनहरूमा प्रभावकारी भूमिका खेल्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।
उनको समर्पण, इमान्दारिता, कर्तव्यनिष्ठा र प्रभावकारी कार्यसम्पादनको मूल्यांकन गर्दै ‘पुलिस अफ द मन्थ’ अवार्ड प्रदान गरिएको प्रहरीको भनाइ छ।
