काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्कबाट रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टको प्रकरणमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ। बेपत्ता भएको झण्डै दुई वर्षपछि अनुसन्धानकर्ताहरूले बरामद गरेको एउटा आराबाट मानव कपाल तथा रौँका नमुनाहरू भेटिएपछि बहुचर्चित घटनाले नयाँ मोड लिएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको अदालतसम्बन्धी दस्तावेज अनुसार भर्जिनियाको फरेन्सिक विज्ञान विभागले अनुसन्धानका क्रममा बरामद गरिएको आरामा विस्तृत वैज्ञानिक परीक्षण गरेको थियो। परीक्षणका क्रममा तीनवटा मानव कपाल, १३ वटा कपालका टुक्रा, केही रेशा तथा अन्य सूक्ष्म पदार्थहरू फेला परेका छन्।
फरेन्सिक विज्ञहरूले प्रारम्भिक रूपमा भिजुअल परीक्षण तथा स्टेरियो माइक्रोस्कोपी प्रविधिबाट विश्लेषण गरेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाएका थिए। अदालतमा पेश गरिएका विवरणअनुसार फेला परेका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’ का लागि उपयुक्त देखिएका छन्। ती नमुनालाई थप परीक्षणका लागि फरेन्सिक बायोलोजी विभागमा पठाइएको छ।
यद्यपि, आराबाट बरामद गरिएका अन्य १३ वटा कपालका टुक्रा भने पूर्ण डीएनए परीक्षणका लागि पर्याप्त गुणस्तरका नभएको फरेन्सिक अधिकारीहरूले उल्लेख गरेका छन्। ती नमुनाहरू समेत अहिले राज्यको केन्द्रीय प्रयोगशालामा थप विश्लेषणको प्रक्रियामा रहेका छन्।
२८ वर्षीया ममता काफ्ले भट्ट सन् २०२४ को जुलाई–अगस्टतिर आफ्नै निवासबाट बेपत्ता भएकी थिइन्। उनको खोजीका क्रममा अमेरिकी प्रहरी, फरेन्सिक विज्ञ र अनुसन्धान टोली लामो समयदेखि सक्रिय छन्। तर अहिलेसम्म ममताको शव भने फेला परेको छैन।
यस प्रकरणमा ममताका श्रीमान् नरेश भट्टविरुद्ध हत्या तथा शव लुकाएको अभियोगमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। अभियोजन पक्षले नरेशले नै ममताको हत्या गरेको दाबी गर्दै आएको छ। तर प्रत्यक्ष भौतिक प्रमाणको अभावबीच चलिरहेको यो मुद्दामा नयाँ फरेन्सिक प्रमाणलाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
अनुसन्धानसँग सम्बन्धित अधिकारीहरूका अनुसार डीएनए परीक्षणको नतिजाले घटनाबारे थप स्पष्टता दिन सक्छ। यदि आराबाट फेला परेका कपालका नमुनाहरू ममता काफ्लेसँग मेल खाएमा अभियोजन पक्षको दाबी थप बलियो बन्ने सम्भावना रहेको कानुनी विश्लेषकहरू बताउँछन्।
नेपाली समुदायले समेत चासोपूर्वक हेरिरहेको यस घटनामा अब सबैको ध्यान डीएनए परीक्षणको अन्तिम रिपोर्टतर्फ केन्द्रित भएको छ। उक्त रिपोर्ट सार्वजनिक भएपछि ममता काफ्ले भट्टको रहस्यमय बेपत्तासम्बन्धी अनुसन्धानले थप महत्वपूर्ण दिशा लिन सक्ने अपेक्षा गरिएको छ।
