नवलपरासी । पर्यटकीय भिसाको दुरुपयोग गर्दै अवैध रूपमा व्यापारिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिक नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार देवचुली नगरपालिका–१३ स्थित दलदले बजार क्षेत्रमा छालाजन्य सामग्री बिक्री गरिरहेको अवस्थामा ५८ वर्षीय च्यान जिन्चियान र ६० वर्षीया यी लिहुआलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूको साथबाट बिक्रीका लागि राखिएका ४३ थान छालाका ज्याकेट बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले आवश्यक अनुमति तथा बिलबिजकबिना उक्त सामग्री बिक्री वितरण गरिरहेको खुलेको छ।
नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार पर्यटकीय भिसामा आएका विदेशी नागरिकले व्यापारिक वा आयआर्जनसम्बन्धी गतिविधिमा संलग्न हुन पाउँदैनन्। तर पक्राउ परेका चिनियाँ नागरिकहरूले पर्यटकका रूपमा नेपाल प्रवेश गरेपछि व्यावसायिक कारोबार सञ्चालन गरिरहेको भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिल पण्डितका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।
प्रहरीले पछिल्लो समय पर्यटकीय भिसाको दुरुपयोग गर्दै व्यापारिक तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न हुने विदेशी नागरिकमाथि निगरानी बढाइएको जनाएको छ। यस्ता गतिविधिले राज्यको राजस्व प्रणाली, वैधानिक व्यापार तथा अध्यागमन व्यवस्थामाथि प्रत्यक्ष असर पार्ने भएकाले सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
