सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले चालु आर्थिक वर्ष २०८२/८३ मा अवैध सामान नियन्त्रणमार्फत ९ करोड ८२ लाख ७८ हजार ३ सय २९ रुपैयाँ बराबरको राजस्व संकलनमा योगदान दिएको विवरण सार्वजनिक गरेको छ। गणको १९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त उपलब्धिलाई प्रमुख रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले सीमा सुरक्षादेखि अवैध कारोबार नियन्त्रणसम्मका विषयमा चर्चा गरेका थिए। यसैक्रममा सशस्त्र प्रहरीका बाहिनीपति कृष्ण ढकालले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि तल्लो तहका कर्मचारीहरू अझ जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
तर उनको सम्बोधनको शैली भने कार्यक्रममा चर्चा र टिप्पणीको विषय बनेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार मन्तव्यका क्रममा ढकालले पटक–पटक तल्लो तहका कर्मचारीतर्फ संकेत गर्दै औंला ठड्याएर निर्देशनात्मक शैली अपनाएका थिए। कार्यक्रमस्थलमै केही सहभागीहरूले नेतृत्व तहको बोली र व्यवहारबीच अन्तर देखिएको टिप्पणी गरेका थिए।
उपस्थित केही व्यक्तिहरूका अनुसार सीमा क्षेत्रमा हुने तस्करी, अवैध कारोबार र राजस्व चुहावटजस्ता विषयलाई केवल तल्लो तहका कर्मचारीको कमजोरीका रूपमा प्रस्तुत गर्नु यथार्थपरक नहुने धारणा व्यक्त गरिएको थियो। उनीहरूको भनाइमा यस्ता गतिविधि नियन्त्रणको जिम्मेवारी संगठनका सबै तहमा समान रूपमा बाँडिएको हुन्छ।
कार्यक्रममा अनौपचारिक रूपमा भएको छलफलमा केही सहभागीहरूले नेतृत्व तहले पनि आफ्नो भूमिकाको समीक्षा गर्नुपर्ने धारणा राखेका थिए। सीमा क्षेत्रमा हुने अवैध कारोबार केवल फिल्डमा खटिएका कर्मचारीको कारणले मात्र सम्भव नहुने, त्यसमा निगरानी प्रणाली, कमाण्ड संरचना, अन्तरनिकाय समन्वय तथा अन्य विभिन्न पक्षको भूमिका रहने उनीहरूको तर्क थियो।
यद्यपि, गणले सार्वजनिक गरेको राजस्व संकलन तथा अवैध सामान नियन्त्रणसम्बन्धी उपलब्धिलाई सकारात्मक रूपमा हेरिएको छ। चालु आर्थिक वर्षमा गरिएको बरामद र नियन्त्रण कारबाहीले राज्यको राजस्व संरक्षणमा योगदान पुगेको भन्दै कार्यक्रमका अधिकांश वक्ताले प्रशंसा गरेका थिए।
तर उपलब्धिसँगै संगठनभित्र नेतृत्व शैली, व्यवहारिक समन्वय र जिम्मेवारीको समान बाँडफाँटबारे पनि बहस सुरु भएको देखिन्छ। कार्यक्रमपछि सहभागीहरूबीच भएको छलफलमा ‘सफलताको श्रेय सबैले लिने तर कमजोरीको दोष तल्लो तहलाई मात्रै दिने प्रवृत्ति अन्त्य हुनुपर्छ’ भन्ने धारणा समेत सुनिएको थियो।
संगठनभित्र अनुशासन र जिम्मेवारी आवश्यक भए पनि नेतृत्व तहले आत्मसमीक्षा, संवाद र उदाहरणीय व्यवहारमार्फत कर्मचारीको मनोबल बढाउनुपर्ने सुझाव समेत कार्यक्रममा सहभागी केही व्यक्तिहरूले दिएका छन्।
