काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्नुका साथै थप १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ। यससँगै नेपाल प्रहरीका कर्मचारीको मासिक पारिश्रमिकमा उल्लेख्य वृद्धि हुने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत चार वर्षको अवधिमा महँगी १७.३ प्रतिशतले बढेकाले कर्मचारीको क्रयशक्ति जोगाउन तलब र प्रोत्साहन भत्ता वृद्धि गरिएको बताएका छन्। तलबमा १० प्रतिशत वृद्धि र नयाँ तलबको १० प्रतिशत प्रोत्साहन भत्ता थपिएपछि प्रहरी कर्मचारीले हालको तुलनामा करिब २१ प्रतिशत बढी रकम पाउने भएका छन्।
नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ। यसले प्रहरी संगठनका तल्लो तहदेखि उच्च नेतृत्वसम्मका सबै कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन्।
नयाँ तलब संरचनाअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त महानिरीक्षक (एआईजी) को आधारभूत तलब ७२ हजार २ रुपैयाँबाट बढेर ७९ हजार २९० रुपैयाँ पुग्नेछ। यसमा १० प्रतिशत प्रोत्साहन भत्ता तथा ग्रेड रकम जोड्दा आईजीपी र एआईजीको मासिक पारिश्रमिक ९२ हजार ५०५ रुपैयाँ पुग्नेछ।
यसअघि आईजीपी र एआईजीले दुई ग्रेडसहित मासिक ७६ हजार ८८ रुपैयाँ बुझ्दै आएका थिए। नयाँ व्यवस्थापछि उनीहरूको मासिक आम्दानीमा उल्लेख्य वृद्धि हुने भएको छ।
प्रहरी जवानको तलबमा पनि वृद्धि भएको छ। हाल प्रहरी जवानको आधारभूत तलब २६ हजार ८२ रुपैयाँ रहेकोमा साउनदेखि २८ हजार ६९० रुपैयाँ पुग्नेछ। यसमा प्रोत्साहन भत्ता र ग्रेड रकम थपिँदा अधिकतम आठ ग्रेड पाउने प्रहरी जवानले मासिक ३९ हजार २०७ रुपैयाँ पाउनेछन्।
यद्यपि, लामो समयदेखि प्रहरी जवानको मासिक पारिश्रमिक कम्तीमा ४० हजार रुपैयाँ हुनुपर्ने माग उठ्दै आए पनि नयाँ वृद्धिपछि समेत जवानको तलब ४० हजार रुपैयाँ नाघ्न सकेको छैन। तर विगत केही वर्षयता भएको वृद्धिमध्ये यसपटकको वृद्धि भने उल्लेखनीय मानिएको छ।
प्रहरी कर्मचारीले तलबबाहेक विभिन्न स्थानअनुसार रासन भत्ता लगायतका सुविधा पनि पाउँदै आएका छन्। त्यसैले वास्तविक आम्दानी भने तलब स्केलभन्दा केही बढी हुने गर्छ।
सरकारले तलब वृद्धि र प्रोत्साहन भत्ता लागू गरेपछि प्रहरी संगठनभित्र कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी महँगीको चाप बढिरहेका बेला तलब पुनरावलोकनले तल्लो तहका प्रहरी कर्मचारीलाई केही राहत पुग्ने विश्वास गरिएको छ।
बजेटमार्फत सार्वजनिक गरिएको नयाँ व्यवस्थाले कार्यालय सहयोगीदेखि प्रहरी महानिरीक्षकसम्म सबै दर्जाका प्रहरी कर्मचारीको पारिश्रमिकमा वृद्धि गरेको छ। साउन १ गतेदेखि लागू हुने यो व्यवस्थाले प्रहरी संगठनका हजारौं कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
