काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट करिब ५०० नेपाली नागरिकको उद्धार गरिएको छ। भारतस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी र नेपाल प्रहरीबीचको समन्वयमा सञ्चालन गरिएको विशेष अपरेसनमार्फत उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो।
प्रहरी स्रोतका अनुसार कुशीनगर क्षेत्रमा ठूलो संख्यामा नेपाली नागरिक अनलाइन गेमिङसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको सूचना भारतीय प्रहरीमार्फत भारतस्थित नेपाली राजदूतावासमा पुगेको थियो। त्यसपछि राजदूतावासले उक्त विषयबारे लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराएको थियो।
सूचना प्राप्त हुनासाथ लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भुपेन्द्र खत्रीले आवश्यक समन्वय प्रक्रिया अघि बढाएका थिए। डिआईजी खत्रीको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली भारतीय सुरक्षा निकायसँग सम्पर्कमा पुगेको थियो। त्यसपछि संयुक्त प्रयासमा कुशीनगरमा रहेका नेपालीहरूको पहिचान गरी उद्धार अभियान सञ्चालन गरिएको हो।
गएराति भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा रहेको स्थानबाट बाहिर निकालिएको र नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका नागरिकलाई सुनौली नाकामार्फत नेपाल ल्याइँदै छ।
प्रारम्भिक विवरणअनुसार उनीहरूमध्ये धेरैलाई आकर्षक रोजगारी, राम्रो आम्दानी तथा विभिन्न प्रलोभन देखाएर भारत पुर्याइएको थियो। त्यहाँ पुगेपछि उनीहरू ‘अनलाइन गेमिङ’सम्बन्धी गतिविधिमा संलग्न रहेको आशंकामा भारतीय सुरक्षा निकायको निगरानीमा परेका थिए। त्यसपछि भारतीय प्रहरीमार्फत सूचना नेपाली राजदूतावाससम्म पुगेको थियो।
घटनाबारे जानकारी प्राप्त भएपछि डिआईजी खत्रीले भारतीय प्रहरी प्रशासनसँग प्रत्यक्ष समन्वय गरी नेपाली नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखेर पहल गरेका थिए। सोही सक्रियताका कारण छोटो समयमै उद्धार अभियान सफल भएको प्रहरी स्रोत बताउँछ।
प्रहरीले उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण संकलन गरिरहेको छ भने उनीहरू भारत कसरी पुगे, कसले लग्यो र त्यसमा कुनै संगठित समूहको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान सुरु गरिएको जनाएको छ।
एकैपटक यति ठूलो संख्यामा नेपाली नागरिकको उद्धार हुनुलाई सीमापार समन्वयमार्फत सम्पन्न भएको महत्वपूर्ण प्रहरी अपरेसनका रूपमा हेरिएको छ।
