काठमाडौं । अनुमतिबेगर शैक्षिक परामर्श संस्था (एजुकेशन कन्सल्टेन्सी) सञ्चालन गर्ने ३१ मध्ये दुई जनालाई कैद सजाय भएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशले बुधबार उनीहरुलाई कैद सजाय भएको जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
उनका अनुसार गुल्मी, तम्घास घर भएका रेमलाल मरासिनी र रामेश्वर भारतीलाई १२–१२ दिनको कैद सजाय भएको हो । बाँकी कन्सल्टेन्सीका सञ्चालकमध्ये केही साधारण तारेख र केही धरौटीमा रिहा भएका छन् ।
कैद सजाय हुने मरासिनी बालाजुमा सञ्चालित छिन्गु कोरियन भाषा र भारती माछापोखरीमा सञ्चालित कञ्चनजंघा ल्याङ्वेज इन्ष्टिच्युटका सञ्चालक हुन् ।
नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनका निम्ति कागजात तयार पार्ने र भिसा प्रक्रियामा सहजीकरण गर्ने क्रममा उनीहरुले कानुनविपरीतका गतिविधि गर्ने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न एजुकेशन कन्सल्टेन्सीमा छापा मारेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले ६८ वटा कन्सल्टेन्सीमा छापा मारेको थियो । त्यसमध्ये ३१ कन्सल्टेन्सी सञ्चालक विरुद्ध शिक्षा ऐनविपरीतको काम गरेको अभियोगमा मुद्दा चलाइएको थियो ।
बाँकी ३७ कन्सल्टेन्सी सञ्चालकमाथि अझै पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
ती कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ परेलगत्तै हाजिर जमानीमा छाडिएको हो । यद्यपि, उनीहरुका गतिविधिमा कैफियत देखिए मुद्दा चल्नसक्ने प्रहरीको भनाइ छ ।
