ललितपुर । कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको यात्रुवाहक बसभित्र एक युवतीको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने चार जनालाई प्रहरीले सिक्रीसहित पक्राउ गरेको छ।
गत जेठ १३ गते बेलुका बसभित्रै युवतीले लगाएको सुनको सिक्री चुँडालेर लुटपाट गरिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले तत्काल खोजी अभियान सुरु गरेको थियो।
प्रहरी टोलीले सानेपास्थित रिङरोड सडकखण्डमा उक्त बसलाई रोकेर यात्रुहरूको खानतलासी गरेको थियो। सो क्रममा प्रहरीले लुटिएको सुनको सिक्रीसहित घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ घर भई हाल बौद्ध बस्ने २९ वर्षीय जनक तामाङ, सोही ठाउँका स्थायी बासिन्दा तथा हाल कलङ्की बस्ने ३० वर्षीय साइमन भनिने मनकुमार तामाङ रहेका छन्।
त्यस्तै, ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ घर भई हाल हरिसिद्धी बस्ने २५ वर्षीय उमेश मुक्तान र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ घर भई हाल हरिहरभवन बस्ने ३० वर्षीय अर्जुन तामाङ पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट १ तोला ९ लाल परिमाणको सुनको सिक्री बरामद गरेको जनाएको छ। पक्राउ परेका चारै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू यसअघि पनि चोरीसम्बन्धी घटनामा संलग्न रहेको अभिलेख फेला परेको छ।
