वीरगञ्ज । वीरगञ्जको छपकैया, खल्वा र अलौ नाका क्षेत्रमा पछिल्लो समय तस्करी गतिविधि तीव्र बन्दै गएको छ। सीमा क्षेत्रमा नेपाल प्रहरीका दुई चौकी र सशस्त्र प्रहरीको बिओपी सक्रिय रहे पनि अवैध ओसारपसार नियन्त्रण हुनुको साटो झन् बढ्दै गएको आरोप स्थानीयको छ।
स्थानीय स्रोतका अनुसार इलाका प्रहरी कार्यालय छपकैयाको क्षेत्रमा पर्ने खोला किनार तथा आँप बगैंचा आसपासका बाटो प्रयोग गरी रातिको समयमा दैनिक रूपमा ठूलो परिमाणमा सामान नेपाल भित्र्याइने गरिएको छ।
रातिको समयमा ४० देखि ५० पोकासम्म सामान ओसारपसार हुने गरेको दाबी स्थानीयको छ। भारतबाट कपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, हार्डवेयर, किराना सामग्री, सुर्तीजन्य वस्तु तथा अन्य सामान भित्र्याएर वीरगञ्जका विभिन्न ट्रान्सपोर्ट तथा गोदामसम्म पुर्याइने गरिएको बताइन्छ।
तस्करी गर्नेहरुमा जितु, बबन, हरिन्दर पटेल, सन्दीपलगायत समूह रातिको समयमा सक्रिय रूपमा संलग्न छन्। उनीहरूले सीमावर्ती गोप्य बाटो प्रयोग गरी सामान नेपाल भित्र्याउने गरेको आरोप छ।
स्थानीयवासीका अनुसार छपकैया क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नियमित ड्युटी रहे पनि तस्करी रोक्न प्रभावकारी पहल भएको देखिँदैन। बरु आर्थिक लेनदेनको आधारमा अवैध कारोबारलाई सहज बनाइएको आरोप उनीहरूको छ।
स्रोतका अनुसार इलाका प्रहरी कार्यालय छपकैयामा कार्यरत प्रहरी नायव निरीक्षक नेत्र रानाको नेतृत्वमा रहेको टोलीमाथि पनि तस्करी नियन्त्रणमा उदासीन बनेको आरोप लागेको छ। आर्थिक असुलीका लागि आफ्ना विश्वासपात्रमार्फत ‘घुमुवा’ परिचालन गरिएको स्थानीयको दाबी छ।
छपकैया आँप बगैंचाबाट भित्रिने अवैध सामान केही दूरी पार गरेपछि प्रहरी चौकी सिर्सियाको कार्यक्षेत्रमा पुग्ने गरेको बताइन्छ। तर दुवै प्रहरी युनिटबीच प्रभावकारी निगरानी नहुँदा तस्करी निर्बाध रूपमा चलिरहेको स्थानीयको आरोप छ।
अलौ र खल्वा नाका हुँदै दिनरात तस्करी भइरहेको दृश्य स्थानीयका लागि सामान्यजस्तै बनेको छ। केही दिनअघि तस्करीका सामान मोटरसाइकलमा राखी रामगढवा, रानीघाट हुँदै ज्योतिनगरको बाटो प्रयोग गरेर वीरगञ्ज बजार भित्र्याइएको भिडियोसमेत सार्वजनिक भएको थियो।
‘सबैले देखिरहेका छन्, तर नियन्त्रण गर्ने निकाय भने चुप लागेर बसेको छ,’ एक स्थानीयले गुनासो गरे।
स्थानीय स्रोतका अनुसार अलौ नाकाबाट दैनिक लाखौं रुपैयाँ बराबरको सामान अवैध रूपमा नेपाल भित्रिने गरेको छ। भारतीय मदिरा, सुर्ती, माछा, हार्डवेयर, पेन्ट तथा महँगा किराना सामग्रीको तस्करी हुने गरेको दाबी गरिएको छ।
नाका प्रहरी चौकी सिर्सियाको टोलीमाथि समेत सीमाक्षेत्रमा हुने गतिविधिप्रति कठोर निगरानी नगरेको आरोप लागेको छ।
उता सीमा सुरक्षा गुल्म अलौ (सुगौली) पनि तस्करी नियन्त्रणभन्दा असुलीमै केन्द्रित रहेको आरोपबाट मुक्त छैन। केही समयअघि ड्युटीमा खटिएका सशस्त्र प्रहरीकै उपस्थितिमा तस्करहरूको मोटरसाइकल लस्कर छुटेको भिडियो सार्वजनिक भएपछि तीन जना सशस्त्र प्रहरीलाई गणमा तानिएको थियो।
तर त्यसपछि पनि अवस्था नबदलिएको स्थानीयको भनाइ छ।
यता बोर्डर आउट पोस्ट (बिओपी) ड्राइपोर्टमाथि समेत तस्करी नियन्त्रणमा उदासीन बनेको आरोप लागेको छ। बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डेमाथि आफ्ना विश्वासपात्रमार्फत आर्थिक असुली गराउने र तस्करीलाई संरक्षण दिने आरोप स्थानीय स्रोतको छ।
बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षकपाण्डेले आफ्नो विश्वासको पात्र रहेका पटेल भन्ने दीपक पटेललाई घुमुवाको रूपमा प्रयोग गरी आर्थिक रकम असुलीमा सक्रिय राखेका छन्।
छपकैया आँप बगैंचामा बिओपी ड्राइपोर्टकै टोली नियमित रूपमा खटिने भए पनि सोही क्षेत्रबाट कपडा, औषधि, हार्डवेयर, दूध बनाउने पाउडर, पापड, बिस्कुट तथा अन्य किराना सामग्रीको व्यापक तस्करी भइरहेको स्थानीयको दाबी छ।
सीमाक्षेत्रमा प्रहरीका दुई चौकी र सशस्त्रको एउटा बिओपी सक्रिय रहे पनि तस्करी नियन्त्रण प्रभावकारी हुन नसक्दा सुरक्षा संयन्त्रकै भूमिकामाथि प्रश्न उठ्न थालेको छ। स्थानीयवासीले सीमाक्षेत्रमा भइरहेको अवैध गतिविधिमाथि निष्पक्ष छानबिन गरी संलग्नमाथि कारबाही गर्न माग गरेका छन्।
