काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेतृत्व सम्हालेको ६ महिनामै संगठनभित्र कल्याण, स्वास्थ्य, सामाजिक सुरक्षा र सेवासुविधामा उल्लेखनीय सुधारका प्रयास अघि बढाएका छन् । प्रहरी संगठनभित्र देखिएका व्यावहारिक समस्या समाधान गर्दै प्रहरी कर्मचारी र उनका परिवारलाई प्रत्यक्ष राहत दिने योजनालाई उनले प्राथमिकतामा राखेका छन् ।
आईजीपी कार्कीको नेतृत्वमा प्रहरी कल्याण कोषमार्फत प्रवाह हुने सेवालाई थप सरल, सहज र छरितो बनाइएको छ । यही अवधिमा बहालवाला, अवकाश प्राप्त तथा अमर÷अशक्त प्रहरी र आश्रित परिवारलाई मृत्यु राहत, औषधोपचार, किरिया खर्च तथा स्वास्थ्य उपचार शीर्षकमा ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी सहायता उपलब्ध गराइएको छ ।
त्यस्तै, छात्रवृत्ति तथा सामाजिक कार्यक्रमअन्तर्गत झण्डै दुई हजार प्रहरी परिवार लाभान्वित भएका छन् । आर्थिक अवस्था कमजोर भएका प्रहरी परिवारका लागि अशक्त छात्रवृत्ति, उच्च शिक्षा छात्रवृत्ति, प्रोत्साहन छात्रवृत्ति, आर्थिक सहयोग र विवाह अनुदान जस्ता कार्यक्रम विस्तार गरिनु संगठनभित्र सकारात्मक सन्देशका रूपमा हेरिएको छ ।
आईजीपी कार्कीले प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखेका छन् । पछिल्लो ६ महिनामा नेपाल प्रहरी अस्पतालमार्फत एक लाख ७५ हजारभन्दा बढी प्रहरी कर्मचारी, पूर्वप्रहरी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवा प्रदान गरिएको तथ्यांक सार्वजनिक गरिएको छ । यसले प्रहरी अस्पतालको सेवा पहुँच र प्रभावकारिता बढेको संकेत गरेको छ ।
प्रहरी संगठनभित्र लामो समयदेखि गुनासो बन्दै आएको राशन स्केलको असमानता हटाउने विषयमा पनि कार्कीले ठोस कदम अघि बढाएका छन् । उनले गरेको प्रतिबद्धताअनुसार आगामी साउन १ गतेदेखि लागू हुने गरी प्रहरी राशनमा थप तीन प्रकारका सामग्री समावेश गरिएको छ । यसलाई तल्लो तहका प्रहरी कर्मचारीको मनोबल बढाउने निर्णयका रूपमा हेरिएको छ ।
प्राकृतिक विपद् तथा दुःखद घटनामा प्रहरी परिवारसँग संगठनको उपस्थितिलाई समेत आईजीपी कार्कीले प्राथमिकतामा राखेका छन् । कास्की र दैलेखमा मृतक तथा अमर प्रहरीका परिवारलाई प्रत्यक्ष भेट गरी श्रद्धाञ्जली अर्पण गर्नुका साथै संगठनको साथ रहने सन्देश दिएका थिए ।
त्यसैगरी, डोल्पामा हिमपहिरोमा फसेका प्रहरी कर्मचारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारको व्यवस्था मिलाइनु पनि नेतृत्वको सक्रियताको उदाहरणका रूपमा लिइएको छ ।
प्रहरी संगठनभित्र सुधार, कल्याण र मनोबल वृद्धिलाई केन्द्रमा राखेर आईजीपी कार्कीले थालेका कार्यक्रमले तल्लो तहसम्म सकारात्मक प्रभाव पार्न थालेको प्रहरी वृत्तमै चर्चा छ । छोटो अवधिमै उनले प्रहरी प्रशासनलाई केवल सुरक्षा निकायका रूपमा होइन, आफ्ना कर्मचारीप्रति उत्तरदायी र संवेदनशील संगठनका रूपमा अघि बढाउने संकेत दिएका छन् ।
