काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा श्रृंखलाबद्ध रूपमा ठुलो परिमाणमा चोरी गर्दै आएको आरोपमा पक्राउ परेका प्रेम थारूमाथि जिल्ला अदालत काठमाडौँमा दुई छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले थारूमाथि नकबजनी चोरी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको हो । प्रहरी अनुसन्धानअनुसार उनले काठमाडौंको बौद्ध र भोटबहाल क्षेत्रमा भएका दुई ठुला चोरी घटनामा प्रत्यक्ष संलग्नता देखिएको छ ।
प्रहरीका अनुसार थारूले बौद्धस्थित तेन्जिङ डोल्मा नेपालीको घरबाट करिब ८० लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । त्यस्तै, भोटबहालस्थित रामकुमार पण्डितको घरबाट पनि करिब ८० लाख रुपैयाँ बराबरको नगद तथा सुनका गहना चोरी गरेको खुलेको छ । दुवै घटनाबाट उनले झन्डै १ करोड ६० लाख रुपैयाँ बराबरको चोरी गरेको आरोप छ ।
अनुसन्धानका क्रममा थारूले प्रहरी र सर्वसाधारणलाई झुक्याउन ‘सुप्रिम विकास चौधरी’ र ‘सौरभ चौधरी’ जस्ता नक्कली नाम प्रयोग गर्दै आएको समेत खुलेको छ । प्रहरीका अनुसार उनी पेशेवर तथा श्रृंखलाबद्ध चोरीमा संलग्न व्यक्ति हुन् ।
प्रहरीले चोरीका गहनाहरू भारतका विभिन्न सहरमा पुर्याएर गलाउने तथा बिक्री गर्ने गरेको तथ्यसमेत फेला पारेको जनाएको छ । चोरीबाट प्राप्त रकमलाई घर, जग्गा, सवारीसाधन तथा बैंक खातामार्फत वैध देखाउने प्रयास गरेको आरोपमा उनीमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत पनि मुद्दा चलाइएको हो ।
अभियोगपत्रमा चोरीबाट आर्जित रकम प्रयोग गरी अस्वाभाविक रूपमा सम्पत्ति जोडेको उल्लेख गरिएको छ । अनुसन्धानबाट थारूले विगत केही वर्षदेखि काठमाडौंलाई आधार क्षेत्र बनाएर चोरीको नेटवर्क सञ्चालन गर्दै आएको र चोरीकै रकमबाट विलासी जीवन बिताउने गरेको खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २४३ अनुसार नकबजनी चोरी कसुरमा हदैसम्मको सजाय माग गरेको छ । साथै, उनी पेशेवर अपराधी भएको भन्दै दफा ४४ बमोजिम थप सजायको समेत मागदाबी गरिएको छ ।
