काठमाडौं । प्रहरी कर्मचारीको आर्थिक समस्या समाधान तथा मनोबल अभिवृद्धि गर्ने उद्देश्यले नेपाल प्रहरीले पछिल्लो ६ महिनामा ४८ सयभन्दा बढी प्रहरी कर्मचारीलाई दुई अर्ब ३८ करोड रुपैयाँभन्दा बढी सहुलियत कर्जा वितरण गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आफ्ना कर्मचारीलाई विभिन्न शीर्षकमा दुई अर्ब ३८ करोड ७३ लाख २३ हजार रुपैयाँ सहुलियत कर्जा उपलब्ध गराएको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कर्मचारीको हित, आर्थिक सहजता तथा मनोबल अभिवृद्धिलाई लक्षित गर्दै प्रहरी कल्याण कोषमार्फत चार हजार आठ सय ४७ जना प्रहरी कर्मचारीलाई उक्त रकम कर्जास्वरूप वितरण गरिएको हो ।
प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मका कर्मचारीलाई आकस्मिक समस्या समाधानका लागि ५.५ प्रतिशत ब्याजदरमा दुई लाख रुपैयाँसम्म आकस्मिक सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था लागू गरिएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदभार ग्रहण गरेलगत्तै आकस्मिक कर्जा सेवा विस्तार गर्ने निर्णय गरेको र सोही निर्णय कार्यान्वयनमा आएपछि प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित भएको काफ्लेले बताए ।
प्रहरी कल्याण कोषमार्फत सहुलियत कर्जासँगै घर खरिद तथा निर्माण कर्जा, शैक्षिक कर्जा, सवारीसाधन खरिद कर्जा, निर्ब्याजी उपचार सापटी तथा आकस्मिक सहुलियत कर्जालगायत सेवा प्रवाह भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रवक्ता काफ्लेका अनुसार ‘प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८०’ लाई संशोधन गरी समयानुकूल सेवा विस्तार गरिएको छ । साथै, कोषबाट प्रवाह हुने सेवाहरूलाई थप सरल, सहज र छरितो बनाउने गरी व्यवस्थापन गरिएको उनले बताए ।
प्रहरी संगठनभित्र आर्थिक समस्या न्यूनीकरण र कर्मचारीको कार्यक्षमता तथा मनोबल बढाउने उद्देश्यले कल्याणकारी कार्यक्रमलाई थप प्रभावकारी बनाइएको प्रहरी मुख्यालयले जनाएको छ ।
