काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवालाई प्राथमिकतामा राखेका छन् । एसएसपीहरुले कमाण्ड गर्ने कार्यालयहरुका प्रमुखहरुको अवधि पुगेका कारण सरुवाको तयारी थालिएको हो ।
एकसाता अघि मात्रै प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा गरेको प्रहरी महानिरीक्षक कार्कीले एसएसपीहरुको सरुवा गर्ने अन्तिम तयारी गरेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार त्यसका लागि आईजीपी कार्कीले गृहसचिवसँग अनुमति लिइसकेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरसहित उपत्यकाका ट्राफिक कार्यालय, २ वटा ब्यूरो तथा केही प्रहरी तालिम केन्द्रमा एसएसपीहरूको सरुवाका लागि गृहकार्य भइरहेको छ ।
काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश थापा, ललितपुर परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटी तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी, लागूऔषधि नियन्त्रण व्यूरोका प्रमुख कृष्णप्रसाद कोइराला, मानव बेचविखन नियन्त्रण ब्यूरोका प्रमुख कृष्ण पंज्ञेनीसहित केही तालिम केन्द्रका प्रमुखहरूको समेत सरुवा हुन लागेको स्रोतले बताएको छ ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि असोजको पहिलो साता काठमाडौं र ललितपुरका प्रहरी प्रमुख परिवर्तन गरिएको थियो । त्यसबेला आन्दोलनका क्रममा जेलमा आगजनी, तोडफोड तथा कैदीबन्दी भाग्ने घटनापछि राजधानीको सुरक्षा अवस्था नियन्त्रणमा ल्याउने जिम्मेवारी एसएसपी रमेश थापा र होविन्द्र बोगटीलाई दिइएको थियो ।
उनीहरुको सरुवा भएको आठ महिना पूरा भइसकेको छ ।
काठमाडौं र ललितपुरको लागि तीव्र प्रतिस्पर्धा
एसएसपी सरुवाको चर्चा चुलिँदै जाँदा जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरको नेतृत्व लिन विभिन्न प्रहरी अधिकारीहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ । काठमाडौं परिसरको प्रमुख बन्न एसएसपी अजय केसी, दयानिधि ज्ञवाली, सुरेश काफ्ले र दिलीप घिमिरे सक्रिय भएका छन् ।
यीमध्ये केहीलाई ललितपुर परिसर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, ब्यूरो तथा प्रहरी तालिम केन्द्रहरूमा पठाउने सम्भावना रहेको बताइएको छ । स्रोतका अनुसार काठमाडौं र ललितपुरको नेतृत्व चयनमा उपत्यकाको शान्तिसुरक्षा बुझेको र कमाण्ड क्षमता अब्बल भएको एसएसपी पठाक्ष्नेछ ।
यता, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा समेत नेतृत्व परिवर्तनको तयारी भइरहेका बेला ट्राफिक व्यवस्थापन, सडक अनुशासन, दुर्घटना नियन्त्रण तथा डिजिटल ट्राफिक निगरानी प्रणालीलाई प्रभावकारी बनाउन सक्ने अधिकारी खोज्ने प्रयास भइरहेको बताइएको छ ।
हालका उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी अधिकारीको कार्यकाललाई भने ट्राफिक व्यवस्थापन सुधार, सडक अनुशासन कायम तथा प्रविधिमैत्री निगरानी प्रणाली विस्तारका हिसाबले उत्कृष्ट कार्यकालका रूपमा मूल्यांकन गरिएको र त्यहाँ कसलाई पठाउने प्रहरी महानिरीक्षक कार्कीले तयारी गरिसकेको बताइन्छ ।
यसअघि केही दिनअघि मात्र जिल्लाका एसपी र डिएसपीहरूको सरुवा सूची सार्वजनिक भएको थियो । त्यसपछि अब एसएसपी र प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरूको सरुवातर्फ संगठनको ध्यान केन्द्रित भएको हो।
