काठमाडौं । धादिङको थाक्रे क्षेत्रमा भएको सडक दुर्घटना र त्यसपछि उत्पन्न तनावपूर्ण अवस्थाबारे प्रतिनिधि सभा सदस्य आशिका तामाङले फेरि सामाजिक सञ्जालमार्फत गम्भीर प्रश्न उठाएकी छन्।
यसअघि अस्थायी प्रहरी बिटका प्रहरी मापासे गरेर ड्युटीमा रहेको आरोप लगाएकी तामाङले यसपटक धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख एसपी सुमित खड्काको भूमिकामाथि नै कडा प्रश्न गरेकी हुन्।
तामाङका अनुसार शनिबार बिहान दुर्घटनापछि पीडित पक्षले सडक जाम गरेपछि उनलाई तत्काल घटनास्थल आउन फोन आएको थियो। उनी धादिङ पुग्दा सडकको बीचभागमा टिप्पर तेर्स्याएर पुरै बाटो बन्द गरिएको, मृतककी श्रीमती रोइरहेको अवस्था तथा सयौं यात्रु घण्टौं अलपत्र परेको दृश्य देखिएको उल्लेख गरेकी छन्।
उनले मृतककी श्रीमतीसँग बाटो खुलाउन आग्रह गर्दा ‘जबसम्म CDO र SP आउँदैनन्, बाटो खुल्दैन’ भन्ने जवाफ आएको समेत बताएकी छन्।

त्यसपछि आफूले प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा ‘खाना खाएर आउँछु’ भन्ने जवाफ पाए पनि चार घण्टासम्म घटनास्थलमा नआएको दाबी तामाङको छ। त्यस्तै धादिङ प्रहरी प्रमुख एसपी खड्का पनि घटनास्थलमा उपस्थित नभएको भन्दै उनले आक्रोश व्यक्त गरेकी छन्।
सांसद तामाङले प्रश्न गरेकी छन्, ‘जिल्लामा यति ठूलो घटना हुँदा, मान्छे मरिसकेको अवस्थामा, सयौं यात्रु जाममा अलपत्र हुँदा समेत CDO र SP घटनास्थल पुग्न सक्दैनन् भने उनीहरूको पद आखिर कसका लागि हो ?’
उनको स्ट्याटसपछि सामाजिक सञ्जालमा धादिङ प्रहरीको कार्यशैलीमाथि व्यापक आलोचना सुरु भएको छ। धेरैले प्रहरी नेतृत्व घटनाको संवेदनशीलताप्रति गम्भीर नभएको, जनताको पीडाभन्दा कुर्सी र शक्तिमा रमाइरहेको टिप्पणी गरेका छन्।
विशेषगरी एसपी खड्कामाथि पछिल्लो समय लगातार प्रश्न उठ्न थालेका छन्। मातहतका प्रहरी युनिटमाथि नियन्त्रण कमजोर भएको, जनगुनासो बढ्दै गएको तथा घटना व्यवस्थापनमा नेतृत्व असफल भएको आरोप सार्वजनिक रूपमा आउन थालेको हो।
स्थानीय तहमा समेत धादिङ प्रहरीप्रति असन्तुष्टि बढ्दो रहेको चर्चा छ। सेवाग्राहीलाई नै दबाब दिने, मुद्दा लिएर आउने सर्वसाधारणलाई होच्याउने तथा जनतासँग संवेदनशील व्यवहार गर्न नसकेको आरोप प्रहरी संगठनभित्रकै केही अधिकारीमाथि लाग्दै आएको छ।
धादिङ जस्तो संवेदनशील जिल्लामा प्रहरी नेतृत्व जनताको सुरक्षा, विश्वास र तत्काल प्रतिक्रिया दिन सक्षम हुनुपर्ने अपेक्षा रहन्छ। तर दुर्घटनाजस्तो गम्भीर घटनामा समेत जिल्लाको सुरक्षा नेतृत्व नै अनुपस्थित देखिनु सामान्य विषय नभएको स्थानीयहरूको भनाइ छ।
यता यस विषयमा जिल्ला प्रहरी कार्यालय धादिङका एसपी खड्काले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म उठेको आक्रोशले धादिङ प्रहरीको छविमाथि गम्भीर असर पार्न थालेको देखिन्छ।
आशिका तामाङको स्ट्याटस

