काठमाडौं । धादिङ प्रहरीमाथि यतिबेला गम्भीर प्रश्न उठेको छ। प्रतिनिधि सभा सदस्य आशिका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत थाक्रे गाउँपालिका–२, सिम्ले स्थित अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरीमाथि मापासे गरेर ड्युटी गरेको तथा दुर्घटनापछि लामो समयसम्म घटनास्थलमा नपुगेको आरोप सार्वजनिक गरेकी छन्।
सांसद तामाङको स्ट्याटस सार्वजनिक भएसँगै धादिङ प्रहरीको कार्यशैली र जिल्ला प्रहरी कार्यालयको कमाण्डमाथि व्यापक प्रश्न उठ्न थालेको छ। तामाङले सार्वजनिक रूपमा धादिङका प्रहरी प्रमुख एसपी सुमित खड्कालाई तत्काल छानबिन गरी दोषी प्रहरी हटाउन आग्रह गरेकी छन्।
स्थानीय स्तरमा समेत धादिङ प्रहरीको कामकारबाही प्रभावकारी नभएको गुनासो बढ्दै गएको बताइन्छ।
धादिङ जिल्ला सुरक्षा संवेदनशील जिल्लामध्ये एक मानिन्छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग, लामो हाइवे, दर्जनौं चेकपोस्ट र विभिन्न सुरक्षा चुनौतीका कारण यहाँको प्रहरी नेतृत्वलाई निकै जिम्मेवार मानिन्छ।
तर पछिल्लो समय एसपी सुमित खड्काको नेतृत्व कमजोर बन्दै गएको, मातहतका प्रहरी युनिटमाथि नियन्त्रण फितलो भएको तथा प्रहरी संगठनको अनुशासन नै खस्किएको आरोप उठ्न थालेको छ।
स्थानीय स्रोतका अनुसार जिल्लाका विभिन्न प्रहरी चौकी र बिटहरूमा प्रहरीको गतिविधिमाथि प्रभावकारी अनुगमन हुन नसकेको गुनासो छ। कतिपय स्थानमा सर्वसाधारणसँग दुर्व्यवहार, मुद्दा लिएर आउने सेवाग्राहीलाई नै होच्याउने तथा दबाब दिने प्रवृत्ति बढेको आरोपसमेत लाग्दै आएको छ।
यता धादिङ जिल्ला भौगोलिक र आर्थिक हिसाबले पनि संवेदनशील क्षेत्र हो। लामो राजमार्गका कारण यहाँ दैनिक सयौं सवारी आवतजावत गर्छन्।
जिल्लाभर रहेका चेकपोस्ट, क्रसर उद्योग तथा विभिन्न आर्थिक गतिविधिसँग प्रहरीको भूमिका जोडिने भएकाले पनि प्रहरी नेतृत्व सधैं निगरानीमा रहने गर्छ। तर पछिल्लो समय जिल्लाको सुरक्षा व्यवस्थाभन्दा अन्य विषयमा बढी ध्यान केन्द्रित भएको चर्चा समेत स्थानीय तहमा सुनिन थालेको छ।
प्रहरी संगठन अनुशासन, जिम्मेवारी र जनविश्वासमा टिक्ने संस्था हो। तर जनप्रतिनिधिबाटै प्रहरी बिटका अधिकांश कर्मचारी मापासे गरेर ड्युटीमा रहेको आरोप आउनु सामान्य विषय होइन। यदि आरोप सत्य हो भने यो केवल केही प्रहरीको कमजोरी मात्र नभई समग्र कमाण्ड प्रणालीकै असफलता हो।
अब प्रश्न उठेको छ- धादिङ प्रहरीको वास्तविक अवस्था के हो ? दुर्घटनाको समयमा प्रहरी किन ढिलो पुग्यो ? जनताले उठाएका गुनासा किन बढिरहेका छन् ? र सबैभन्दा महत्वपूर्ण, एसपी सुमित खड्काले आफ्नो मातहतको संगठनलाई प्रभावकारी रूपमा चलाइरहेका छन् कि छैनन् ?
यी प्रश्नको जवाफ अब धादिङ प्रहरीले स्पष्ट रूपमा दिनुपर्ने देखिएको छ। अन्यथा सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म उठिरहेको अविश्वासले प्रहरी संगठनको छविमा अझ ठूलो असर पार्न सक्ने देखिन्छ।
आशिका तामाङको स्ट्याटस हेर्नुहोस

