काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई एक तह बढुवा दिइने भएको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले बढुवा पाउने भएका हुन्।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले जेठ ८ गते प्रधान कार्यालय हलचोक, स्वयम्भूमा आयोजित सम्मान कार्यक्रममा आरोहीहरूलाई बढुवाको सूचना दिएका हुन्। शेर्पालाई तत्काल बढुवा प्रक्रिया अघि बढाइएको छ भने कार्कीलाई सहायक हवल्दार पदमा बढुवा भएको अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने जानकारी दिइएको छ।
महानिरीक्षक पौडेलले आरोहीहरूको सफलतापूर्वक सगरमाथा चुचुरोमा राष्ट्र र संगठनको झन्डा फहराउने कार्य गौरवको विषय भएको उल्लेख गर्दै यसले सशस्त्र प्रहरी कर्मचारीहरूका मनोबलमा पनि प्रेरणा र उत्साह थप्ने बताए।
सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र संगठनको झन्डा सर्वोच्च शिखरमा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १०स्२० मा सगरमाथाको चुचुरोमा आरोहण गरेकी थिइन् भने सहायक निरीक्षक निम डिक्की शेर्पाले जेठ ३ गते बिहान ११ः५५ मा सगरमाथा र जेठ ४ गते दिउँसो ३ः२५ मा लोत्से हिमाल आरोहण गर्ने ऐतिहासिक सफलता हासिल गरेकी छन्।
सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला हुन्। यस ऐतिहासिक सफलताले महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ।
