काठमाडौं । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले पुनः उत्कृष्टता कायम राख्दै वैशाख महिनामा पनि जिल्लातर्फ प्रथम स्थान हासिल गरेको छ । प्रदेशस्तरीय मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रथम बनेको छ भने जिल्लातर्फ बाँकेले उत्कृष्ट कार्यसम्पादन गर्दै शीर्ष स्थान सुरक्षित गरेको हो ।
अपराध नियन्त्रण, शान्ति सुरक्षा, अनुसन्धान, फरार अभियुक्त पक्राउ, समुदाय–प्रहरी साझेदारी, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण बाँके प्रहरीले पछिल्ला महिनाहरूमा निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको बताइएको छ ।
प्रहरी संगठनभित्र हुने नियमित कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरीको सक्रियता, परिणाममुखी कार्यशैली र नेतृत्व क्षमताले विशेष प्रशंसा बटुलिरहेको छ ।
विशेषगरी बाँकेको कोहलपुर क्षेत्रमा रहेको नगर विकास समितिले योजनाबद्ध गरेको २८ बिघा सार्वजनिक जग्गामा करिब दुई दशकदेखि अतिक्रमण गरी निर्माण गरिएका सुकुम्बासी बस्ती हटाउने कार्यलाई बाँके प्रहरीको सबैभन्दा चुनौतीपूर्ण तथा उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ ।
लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवीय संवेदनशीलतासँग जोडिएको उक्त क्षेत्रको व्यवस्थापन सहज विषय थिएन । विगतमा पटक–पटक प्रयास भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेले सुरक्षा रणनीति, समन्वय र संयमतापूर्ण परिचालनमार्फत उक्त अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको हो ।
प्रहरीले स्थानीय प्रशासन, नगर विकास समिति, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै सम्भावित तनाव र जोखिमलाई सूक्ष्म रूपमा विश्लेषण गरी सुरक्षा योजना तयार पारेको थियो । सोही योजनाअनुसार परिचालित सुरक्षाकर्मीहरूको सक्रियताका कारण कुनै मानवीय क्षति, ठूलो झडप वा अप्रिय घटना हुन नदिई करिब ७५० घरटहरा हटाउने कार्य सम्पन्न गरिएको जनाइएको छ ।
स्थानीयवासीका अनुसार बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको नेतृत्व, निर्णय क्षमता र समन्वयकारी भूमिकाले उक्त अभियान सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको हो । कठिन र संवेदनशील परिस्थितिमा पनि संयमता नछोडी कानुनी प्रक्रिया र मानवीय पक्षलाई सन्तुलनमा राखेर सुरक्षा व्यवस्थापन गरिएको भन्दै स्थानीय स्तरमा एसपी जिसीको नेतृत्वको प्रशंसा भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार बाँके जिल्लामा लागूऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन र समुदाय–प्रहरी साझेदारी कार्यक्रमहरू पनि प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन् । यसले जिल्लामा प्रहरीप्रतिको जनविश्वास बढाउन मद्दत पुगेको बताइन्छ ।
लुम्बिनी प्रदेशकै उत्कृष्ट जिल्लाका रूपमा बाँकेको निरन्तर सफलता केवल अंकगत उपलब्धि मात्र नभई प्रहरी संगठनको कार्यक्षमता, नेतृत्वको प्रभावकारिता र जनउत्तरदायी सुरक्षा व्यवस्थापनको उदाहरणका रूपमा हेरिएको छ ।
बाँके प्रहरीको यो सफलताले कानुन कार्यान्वयन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा राज्यका निर्णय कार्यान्वयनमा प्रहरी संगठन सक्षम रहेको सन्देश दिएको भन्दै विभिन्न क्षेत्रबाट प्रशंसा व्यक्त भइरहेको छ ।
