काठमाडौं । रुपन्देही प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी ‘विक्की’ रहेका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नोट छाप्न प्रयोग गरिने उपकरण, कैँची तथा प्रिन्ट भइसकेका र प्रिन्ट गर्न बाँकी अवस्थाका नक्कली नोटसहितका सामग्री बरामद गरेको जनाएको छ।प्रहरीले बिहीबार राती उनीहरूलाई पक्राउ गरे पनि शुक्रबार साँझ मात्रै घटना सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एउटै नम्बर ९ङ २५ ०२४९१२० रहेका ५०० दरका ३० थान तयारी नक्कली नोट, १००, ५०० र १००० दरका प्रिन्ट भई कटिङ गर्न बाँकी ७ थान नोट, १ थान सिपियु, १ थान प्रिन्टर र १ थान मोनिटर बरामद गरिएको छ। यसैगरी ४ रिम प्रिन्ट पेपर, २ थान मोबाइल र १ थान कैँची पनि बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका व्यक्ति र बरामद सामग्रीमाथि थप अनुसन्धान भइरहेको छ।
