महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
आयोग स्रोतका अनुसार उपभोक्ता समितिसँग आर्थिक लेनदेन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई महोत्तरीस्थित औरही सडक क्षेत्रमा पक्राउ गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा यादवसँग थप रकमसमेत रहेको आशंका गरिएको छ । बरामद रकम तथा लेनदेनसम्बन्धी अन्य पक्षबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
स्थानीय तहमा विकास निर्माणका कामसँग जोडिएका योजनामा अनियमितता र आर्थिक चलखेलको गुनासो बढिरहेका बेला प्रमुख प्रशासकीय अधिकृत नै घुस प्रकरणमा पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ ।
अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।
