काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी क्षेत्रको एक रिसोर्टमा पुगेको प्रहरी टोलीबारे विभिन्न अनलाइन माध्यममा प्रकाशित समाचारप्रति प्रश्न उठ्न थालेको छ । केही अनलाइनले प्रहरी टोलीको उपस्थितिलाई विवादास्पद बनाउने प्रयास गरेपछि घटनाको वास्तविक पक्षबारे चर्चा सुरु भएको हो ।
हिजो अर्थात् ५ जेठमा एक चर्चित अनलाइनले प्रहरी अधिकारी सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको भन्दै समाचार प्रकाशित गरेको थियो । समाचारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली रिसोर्ट पुगेको र उक्त कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पनि त्यसलाई स्वीकार गरेको दाबी गरिएको थियो ।
तर, सोही समाचारमा रिसोर्टका कर्मचारीको भनाइ उद्धृत गर्दै ‘सिआईबीबाट आएको’ भन्दै टोली पुगेको उल्लेख गरिएको छ । यही बुँदाले नै समाचारभित्र विरोधाभास देखिएको भन्दै प्रहरी वृत्तमा प्रश्न उठेको छ ।
प्रहरी स्रोतका अनुसार उक्त टोली कुनै व्यक्तिको निजी गतिविधि पछ्याउन नभई चिनियाँ नागरिकले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि त्यहाँ पुगेको थियो ।
घटनाक्रम अनुसार फागुनको तेस्रो सातातिर एक चिनियाँ महिला नागरिक सिन्धुपाल्चोकको भोटेकोशीस्थित रिसोर्टमा बस्न पुगेकी थिइन् । त्यहाँ बसाइका क्रममा उनको नगद, गहना, मोबाइल फोन तथा ल्यापटप चोरी भएको दाबी गरिएको छ ।
ती चिनियाँ नागरिकले सुरुमा रिसोर्टका कर्मचारीलाई घटनाबारे जानकारी गराएकी थिइन् । तर, कर्मचारीले चासो नदिएको आरोप छ । त्यसपछि उनले रिसोर्ट व्यवस्थापनसँग पनि कुरा गरेकी थिइन् । तर, त्यहाँबाट समेत सहयोग नपाएपछि उनी काठमाडौं आएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेकी थिइन् ।
उजुरी प्राप्त भएपछि कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले घटनाबारे प्रारम्भिक जानकारी लिएर टोलीलाई अनुसन्धानका लागि पठाएको प्रहरी स्रोत बताउँछ ।
यही घटनालाई लिएर अहिले अर्को बहस पनि सुरु भएको छ । केहीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुसन्धान गरेको भन्दै आलोचना गरेका छन् ।
तर, प्रहरी अधिकारीहरू भने यस्तो आलोचना सतही रहेको बताउँछन् । उनीहरूका अनुसार काठमाडौं बाहिर घटना भएको भन्दै उजुरी नै नलिनु प्रहरीको दायित्व विपरीत हुने तर्क गर्छन् ।
एक प्रहरी अधिकारी भन्छन्, ‘यदि कुनै पीडित काठमाडौं आएर उजुरी दिन्छ भने हामीले ‘यो हाम्रो क्षेत्र होइन’ भनेर फर्काउने हो भने फेरि प्रहरीले काम गरेन भन्ने आरोप लाग्छ । नेपाल प्रहरी एउटै संगठन हो, आवश्यक समन्वय गरेर अनुसन्धान अघि बढाइन्छ ।’
प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानका लागि गुण्डागर्दी नियन्त्रण हेर्ने पिलरमा कार्यरत इन्स्पेक्टर गणेश जैसी नेतृत्वको टोली रिसोर्ट पुगेको थियो । टोलीले घटनाबारे जानकारी माग्दा रिसोर्ट सञ्चालक तथा व्यवस्थापन पक्षले अपेक्षित सहयोग नगरेको बताइएको छ ।
त्यसक्रममा रिसोर्ट पक्षले सीसीटिभी फुटेज ३० दिनसम्म मात्रै सुरक्षित रहने भन्दै पुरानो दृश्य उपलब्ध नभएको जवाफ दिएको स्रोतको भनाइ छ । त्यसबारे टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेपछि थप अनुसन्धानका लागि सीसीटिभी हार्डडिस्क नै काठमाडौं ल्याइएको बताइएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार विदेशी नागरिकसँग सम्बन्धित संवेदनशील घटनामा प्रहरीले गम्भीरता देखाउनु स्वाभाविक हो । विशेषगरी नेपाल भ्रमणमा आएका पर्यटक असुरक्षित महसुस गर्ने अवस्था आउन नदिन अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ ।
यसैबीच एसएसपी सन्तोष खड्काले पनि घटनालाई अनावश्यक रूपमा अन्य व्यक्तिसँग जोडेर प्रचार गरिएको बताएका छन् ।
‘हामीले चिनियाँ नागरिकको जाहेरीका आधारमा अनुसन्धान गरेका हौं । अन्य व्यक्तिसँग जोडेर प्रचार गर्नु हास्यास्पद कुरा हो,’ उनले बताएका छन् ।
प्रहरी वृत्तमा समेत अनुसन्धानकै सिलसिलामा गएको टोलीलाई लिएर अनावश्यक रूपमा विवाद सिर्जना गर्न खोजिएको टिप्पणी भइरहेको छ । नेपाल प्रहरीकै एक युनिटले उजुरीका आधारमा अनुसन्धान गर्नु स्वाभाविक प्रक्रिया भए पनि त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको भन्दै प्रहरी अधिकारीहरूले असन्तुष्टि जनाएका छन् ।
