नेपालगञ्ज । बुद्ध एयरले करिब पाँच वर्षदेखि सञ्चालन गर्दै आएको नेपालगञ्ज–पोखरा सिधा उडान अस्थायी रूपमा स्थगित गरेको छ । मंगलबारदेखि लागू हुने गरी उडान रोकिएको बुद्ध एयर नेपालगञ्ज स्टेशनले जनाएको छ ।
भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु, मलमासका कारण यात्रु अभाव हुनु तथा इन्धन खर्च बढ्दै जानुले उडान सञ्चालन गर्न कठिन भएको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनितविक्रम शाहले बताए ।
विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालन हुँदै आएको उक्त उडानले पश्चिम नेपालका यात्रु र पर्यटन व्यवसायीलाई ठूलो राहत दिएको थियो । उडानमार्फत पोखराबाट नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारासम्म पुग्न सहज भएको थियो भने भारतको लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पनि सुविधा पुगेको थियो ।
उडान स्थगित भएपछि यात्रु फेरि लामो सडक यात्रामा निर्भर हुन बाध्य भएका छन् । एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले सरकारी पहल अभावका कारण सेवा बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरे ।
बुद्ध एयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी सिरिज जहाजमार्फत सेवा दिँदै आएको थियो । यात्रुको चाप घटेपछि उडान केही समयका लागि रोकिएको कम्पनीले जनाएको छ ।
