भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले सम्हालेका छन् । बुधबार निवर्तमान प्रहरी प्रमुख एसपी गोविन्द पुरीले पौडेललाई औपचारिक रूपमा कमाण्ड हस्तान्तरण गरेका हुन् ।
यसक्रममा सरुवा भएर प्रहरी प्रधान कार्यालय नक्साल जान लागेका एसपी पुरीको बिदाइ समेत गरिएको थियो । कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूले पुरीको कार्यकालको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
एसपी पुरीको प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा भएपछि पौडेल चितवन प्रहरी प्रमुखका रूपमा आएका हुन् ।
पदभार ग्रहणपछि एसपी पौडेलले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रहरी संगठनभित्र कार्यसम्पादन र परिणामका आधारमा मूल्यांकन गरिने उल्लेख गर्दै मातहतका प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए ।
एसपी पौडेलले जनताले अनुभूति गर्ने गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा आफू केन्द्रित रहने पनि बताए ।
