काठमाडौं । नेपाल प्रहरी संगठन पछिल्लो समय परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको संकेत देखिन थालेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तीन वर्षे रणनीतिक योजना केवल औपचारिक दस्तावेज मात्र होइन, संगठनलाई प्रविधिमैत्री, उत्तरदायी र नागरिक केन्द्रित बनाउने महत्वाकांक्षी रोडम्यापका रूपमा हेरिएको छ ।
महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मंगलबार सार्वजनिक गरेको उक्त रणनीतिक योजनाले नेपाल प्रहरीलाई परम्परागत सुरक्षा संयन्त्रबाट आधुनिक, व्यावसायिक र सेवा केन्द्रित संस्थामा रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ ।
‘नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत सेवाको रूपान्तरण’ भन्ने मूल नारासहित ल्याइएको योजनामा आगामी तीन वर्षभित्र प्रविधि, अनुसन्धान क्षमता, सेवा प्रवाह र संगठनात्मक सुधारलाई प्राथमिकतामा राखिएको छ ।
रणनीतिक योजनाको मुख्य विषय ‘चुस्त प्रहरी सेवा-सुरक्षित समुदाय’ तय गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार योजनाले संगठनलाई अझ सक्षम, भरोसायोग्य र उत्तरदायी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
आईजीपी कार्कीले नेतृत्व सम्हालेपछि संगठनभित्र सुधारको संकेत दिने अनेक प्रयासहरू अघि बढेका छन् । प्रहरीभित्र अनुशासन, कार्यसम्पादन मूल्यांकन, कमाण्ड प्रणाली र नागरिकसँगको सम्बन्ध सुधारलाई उनले प्राथमिकतामा राख्दै आएका छन् । कार्यक्षमता र नेतृत्व क्षमताका आधारमा अगाडि बढेका अधिकृतका रूपमा परिचित कार्कीलाई संगठनभित्र ‘वर्किङ आईजी’ का रूपमा पनि हेरिन्छ ।
उनको नेतृत्वमा प्रहरी संगठनले पछिल्लो समय डिजिटल प्रणालीको प्रयोग बढाउने, सेवा प्रवाहलाई सहज बनाउने र अनुसन्धानलाई प्रमाण आधारित बनाउने दिशामा काम थालेको छ । रणनीतिक योजनाले त्यसलाई औपचारिक संरचना दिएको विश्लेषण प्रहरी वृत्तमा भइरहेको छ ।
प्रहरी प्रधान कार्यालयले रणनीतिक योजना सार्वजनिक गर्नुअघि ‘नेपाल प्रहरी कार्ययोजना २०८०’ अन्तर्गत भएका लक्ष्य, उपलब्धि र कमजोरीहरूको समीक्षा गरेको थियो । सोही समीक्षाका आधारमा नयाँ रणनीतिक योजना तयार पारिएको बताइएको छ ।
योजनामा सात वटा रणनीतिक क्षेत्र निर्धारण गरिएको छ । ती क्षेत्रअन्तर्गत ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्य समेटिएका छन् । प्रहरी संगठनलाई केवल अपराध नियन्त्रण गर्ने निकायबाट नागरिकको भरोसाको संस्थामा रूपान्तरण गर्ने प्रयास योजनामा देखिन्छ ।
अल्पकालीन लक्ष्यअन्तर्गत नीतिगत तथा कानुनी सुधार, समुदाय–प्रहरी साझेदारी सुदृढीकरण, अपराध रोकथाममा पूर्वानुमान आधारित प्रणालीको विकास तथा कार्यसम्पादनमा आधारित वृत्ति विकासलाई प्राथमिकता दिइएको छ । त्यसैगरी अनुसन्धान प्रणालीलाई विशिष्टीकरण गर्ने, प्रहरीको आधारभूत क्षमता विकास गर्ने तथा सेवा प्रवाहका प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
प्रहरीभित्र सुपरिवेक्षण र मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउने विषयलाई पनि रणनीतिक योजनाले महत्व दिएको छ । विगतमा प्रहरी संगठनमाथि लाग्ने गरेका राजनीतिक प्रभाव, कमजोर अनुसन्धान, ढिलो सेवा प्रवाह र आन्तरिक अनुशासनसम्बन्धी प्रश्नलाई सम्बोधन गर्ने प्रयास योजनामा देखिन्छ ।
प्रविधिमैत्री प्रहरी निर्माणलाई योजनाको मुख्य आधार बनाइएको छ । साइबर अपराध, संगठित अपराध र सीमा पार अपराधका चुनौती बढिरहेका बेला आधुनिक प्रविधि र अनुसन्धान प्रणालीबिना प्रभावकारी सुरक्षा सम्भव नहुने निष्कर्षसहित प्रहरीले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको हो ।
आईजीपी कार्की नेतृत्वको यो योजना सफल कार्यान्वयन हुन सके नेपाल प्रहरीको कार्यशैलीमा उल्लेखनीय परिवर्तन आउन सक्ने अपेक्षा गरिएको छ । तर, योजनाको सफलता केवल दस्तावेजमा सीमित नरही कार्यान्वयनमा निर्भर रहने जानकारहरू बताउँछन् ।
संगठनभित्र सुधारको प्रयाससँगै प्रहरीप्रति नागरिकको विश्वास बढाउने चुनौती पनि उत्तिकै महत्वपूर्ण छ । पछिल्ला वर्षहरूमा प्रहरीमाथि उठेका विवाद, अनुसन्धानमाथिका प्रश्न र राजनीतिक प्रभावका आरोपका बीच सार्वजनिक गरिएको रणनीतिक योजनालाई धेरैले ‘सुधारको अवसर’ का रूपमा हेरेका छन् ।
