रौतहट । रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै चालु आर्थिक वर्षमा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका २११ जनालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियानमार्फत फरार प्रतिवादीहरूको खोजी कार्यलाई व्यापक बनाइएको हो।
पछिल्ला तीन दिनमै मात्र ३४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। तीमध्ये बिहीबार ५ जना, त्यसअघि २८ र २९ गते २९ जना पक्राउ परेका थिए।
पक्राउ परेकामध्ये चेक अनादर मुद्दामा दोषी ठहर भएका धनराज पण्डित र नगिना साह सोनार, लागूऔषध मुद्दाका निरज यादव, ज्यान मार्ने उद्योगका राजेश महतो तथा चोरी मुद्दाका विश्वेश्वर महतोसहितका व्यक्ति रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार साउनदेखि वैशाखसम्म सञ्चालन गरिएको अभियानमा पक्राउ परेका प्रतिवादीहरूबाट हालसम्म २७ लाख २० हजार ५४ रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै अदालतले तोकेको ३८ वर्ष, १९७ महिना र १७० दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ।
प्रहरी तथ्यांकअनुसार वैशाख महिनामा मात्रै सबैभन्दा बढी ५३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। मंसिरमा ३४, माघमा २१ तथा असोज र चैत महिनामा १८–१८ जना पक्राउ परेका थिए।
चालु आर्थिक वर्षमा रौतहटमा ९१० मुद्दा दर्ता भएका मध्ये ५८६ जना प्रतिवादी पक्राउ परिसकेका छन् भने अझै ७४० जना फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले फरार प्रतिवादी खोजी अभियानलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी बनाइने बताइएको छ।
