काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कल्याण कोषको रकम एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव आह्वान गरेको छ ।
कल्याण महाशाखाले सार्वजनिक गरेको सूचना अनुसार कोषको साधारणतर्फको नेपाली रुपैयाँ तीन करोड रकम नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गरिने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम, प्रस्तावित ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।
सूचना अनुसार प्रस्ताव २०८३ जेठ ४ गते कार्यालय समयभित्र बुझाइसक्नुपर्ने छ ।
प्रहरी प्रधान कार्यालय नक्सालस्थित कल्याण महाशाखाले प्रकाशित गरेको सूचनामा प्रतिस्पर्धात्मक ब्याजदरमार्फत कोषको रकम सुरक्षित तथा लाभदायी रूपमा लगानी गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ ।

