काठमाडौं । पर्साको सीमावर्ती क्षेत्र पोखरिया आसपास यतिबेला चोरी र तस्करीको गतिविधि व्यापक रूपमा बढेको स्थानीयवासीको गुनासो छ। शान्ति सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीकै केही सदस्य आर्थिक प्रलोभनमा परेर तस्कर समूहसँग मिलेमतो गर्न थालेपछि अवस्था झन् भयावह बनेको छ।
स्थानीय स्रोतका अनुसार नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय पोखरिया मातहतका विभिन्न नाकाहरू अहिले तस्करहरूको सुरक्षित मार्ग बन्दै गएका छन्।
पोखरिया मातहतका बिन्दवासिनी, भिस्वा, आसवारी, मिर्जापुर, जानकीटोला, सबैठवा, धोरे, खेस्रहा, अमरपट्टि, प्रसौनीभठ्ठा, टिहुकी, बुडगाई, लगन्डी, बहुअर्वाभिठ्ठा, प्रसौनी र इनरुवालगायतका क्षेत्रमा अहिले तस्करी मौलाएको स्थानीयको दाबी छ।
स्थानीयका अनुसार रातिको समयमा सीमावर्ती नाकाबाट कपडा, किराना सामग्री, खाद्यान्न, माछा, कवाड र कुखुराको चल्लासम्म खुलेआम ओसारपसार हुने गरेको छ।
‘घुमुवा’ को आतंक
स्थानीयवासीका अनुसार कालिकामाई गाउँपालिका क्षेत्रको प्रहरी चौकीमा कार्यरत घुमुवा रमाकान्त पासवानमाथि सर्वसाधारणलाई दुःख दिने र तस्करहरूसँग आर्थिक लेनदेन मिलाउने आरोप लागेको छ।
उनलाई पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले आफ्नो विश्वासपात्र घुमुवाको रूपमा खटाएका हुन्। पासवानलाई औपचारिक रूपमा अन्य चौकीमा राखिएको देखाइए पनि वास्तविक रूपमा उनले पोखरिया क्षेत्रकै तस्करी ‘सेटिङ’ सम्हाल्ने गरेको आरोप छ।
स्थानीयहरू भन्छन्, ‘ठूला तस्करहरूबाट मासिक रकम उठाएर कार्यालयसम्म पुर्याइन्छ, तर सामान्य नागरिकमाथि मात्रै कडाइ गरिन्छ।’
पोखरियाका इन्स्पेक्टर पौडेलले घुमुवा राखेका पासवान पटक-पटक विवादमा तानिएका प्रहरी हुन् ।
को हुन् चर्चित तस्कर ?
स्थानीय स्रोतहरूले केही व्यक्तिहरूलाई ‘मुख्य तस्कर समूह’ को रूपमा चिनाएका छन्।
सत्रुधन र सरदेव नामका व्यक्तिहरू कपडा तस्करीका मुख्य खेलाडी मानिन्छन्।
मुमताज नामका व्यापारीले माछा तस्करी सञ्चालन गर्ने गरेको आरोप छ।
‘बैठा ग्रुप’ ले किराना सामग्रीको तस्करी गर्ने गरेको स्थानीयको भनाइ छ।
मुना नामका तस्करले भिस्वा नाकाबाट चाइनिज स्याउ, मरिच र अन्य सामग्री भित्र्याउने गरेका छन्।
टुना नामका व्यक्तिले धान, गहुँ र मकैको अवैध कारोबार गर्ने गरेको आरोप छ।
शशिकान्त कवाड तस्करीमा सक्रिय रहेको बताइन्छ।
स्वरुप समूह र सन्दीप चौरसिया नामका व्यक्तिहरू कुखुराको चल्ला, कपडा र किराना तस्करीमा सक्रिय रहेको स्थानीय दाबी छ।
000
पर्सा प्रहरी प्रमुख एसपी सुदीप राज पाठकसम्म पटक–पटक गुनासो पुर्याइए पनि कुनै प्रभावकारी कारबाही नभएको आरोप छ। स्थानीयको भनाइमा, ‘तस्करी रोक्नुपर्ने प्रहरी नै संरक्षणमा देखिएपछि सीमावर्ती क्षेत्र असुरक्षित बनेको छ।’
पोखरिया क्षेत्रका स्थानीयले सीमावर्ती नाकामा भइरहेको गतिविधिबारे निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनीहरूका अनुसार यदि समयमै नियन्त्रण नगरिए सीमावर्ती क्षेत्रमा संगठित अपराध झन् मौलाउने खतरा बढ्नेछ।
