काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ संसद बैठकमा अनुपस्थित भएको झोकमा बैठक नै बहिस्कार गरेर बाहिरिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गरेका छन् ।
संसदबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्तारुढ दलले आफूखुसी संसद चलाइरहेको बताए ।
उनले भने–‘हामी संसद वैठक बहिष्कार गरेको हो । प्रधानमन्त्री नै छैन देशमा । भए त आउनुपर्ने । प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने कुरा अरुलाई पठाउने भइरहेको छ । हाम्रो केही प्रश्न पनि छन् । थुप्रै कुरा छन् । सत्तारुढ दलले मनखुशी चलाइरहेको छ ।’
सांसदहरुलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनु भनेजस्तै गरिएको साम्पाङले बताए ।
उनले भने–‘समयहरु हुन्छ नि त । नीति तथा कार्यक्रमको छलफल गर्न पनि पर्याप्त समय दिएको छैन । बजेट पनि त्यसै गरिरहेको छ । हामी निस्किसक्या छौं अरु पनि कराइरहेका छौं । अब पब्लिकले मूल्यांकन गर्छन् ।’
बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको थियो।
तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएपछि विपक्षी दलका संसदहरुले संसद नै अवरोध गरेका हुन् ।
विपक्षी दलहरूले सभामुख डीपी अर्यालको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने भन्दै सदन अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।
